अमेरिका र उत्तर कोरियाबीच पुनः वार्ता हुने सम्भावनाः अमेरिकी विदेशमन्त्री पोम्पेओ

अमेरिका र उत्तर कोरियाबीच पुनः वार्ता हुने सम्भावनाः अमेरिकी विदेशमन्त्री पोम्पेओ
मङ्लबार, चैत्र ५, २०७५

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन् । विदेशमन्त्री पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच पुनः वार्ता हुन सक्ने बताएका हुन् ।

उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले उत्तर कोरियासँग अमेरिकाले चासो राखिरहेको र यस विषयमा आवश्यकताअनुसार पुनः वार्ता गर्ने उनले बताएका हुन । ट्रम्प र किमबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको वार्ता भएको थियो ।

सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति हुन सकेको थिएन । तर हनोइ वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका थिए । विदेशमन्त्री पोम्पेओले पनि हनोइमा अमेरिका र उत्तर कोरियाबीचमा भएको उच्चस्तरीय वार्तामा केही प्रगति भने भएको बताएका थिए ।