छलफलपछि मात्र बिधेयक ल्याउन सभामुखको सुझाव

छलफलपछि मात्र बिधेयक ल्याउन सभामुखको सुझाव
बुधबार, चैत्र १३, २०७५

काठमाडो । सभामुख कृष्णबहादुर महराले पर्याप्त छलफलपछि मात्र बिधेयक ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आज(बुधवार) काठमाडौमा गरेको सूचनाको हकको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सभामुख महराले बिना छलफल ल्याइएको बिधेयकमाथि गुनासो बढि देखिएको भन्दै पर्याप्त छलफलपछि मात्र ल्याउन सुझाव दिनुभएको हो ।

उहाँले ऐन कानुन जनताका लागि भएको भन्दै ऐन निर्माणका लागि सरोकारवालाहरुसंगको सुझाव महत्वपूर्ण हुने धारणा पनि राख्नुभयो । सूचनाकोे हक सम्बन्धी ऐनलाई प्रभावकारी बनाउनका लागि विस्तृत छलफल गर्दै परिमार्जन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।

सभामुख महराले सूचना व्यवस्थीत ढंगले बाहिर आए समाजमा हुने बेथितिको अन्त्य हुने जिकिर गर्नुभयो । उहाँले रचनात्मक सूचनाको खोजी गर्दै पारदर्शीतामा जोड दिनुभयो ।

त्यस्तै सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले सूचना आयोगलाई संवैधानिक आयोगको मान्यता दिनुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा सूचनाको हकको प्रभावकारीताका बिषयमा छलफल भएको छ ।