मदिरा ब्यापार खुलेसंगै रुकुम पश्चिममा अपराधिक गतिविधि बढ्यो

मदिरा ब्यापार खुलेसंगै रुकुम पश्चिममा अपराधिक गतिविधि बढ्यो
बिहिबार, चैत्र १४, २०७५

मेघराज खडका, रुकुम । रुकुम पश्चिममा अदालतको आदेशसंगै मदिरा पसलहरु खुलेर बिक्रि बितरण सहज भएपछि पुनः अपराधीक घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमले निर्णय गरेर सबै प्रकारका मदिराहरु जिल्लामा बिक्रि बितरण गर्न नपाईने निर्णय गरी फागुन १६ गतेदेखि मदिरा पसलमा समेत शिलबन्दी लगाईएपनि व्यवसायीहरुले अनुमति लिएको मदिरा व्यवसाय गर्न पाउनुपर्ने माग सहित उच्च अदालत सुर्खेतमा मुद्धा हालेपछि अदालतले व्यवसायीको पक्षमा अन्तरिम आदेश गरेको थियो । जस अनुसार पुनः मदिरा खुला भएसंगै केहि कम भएको अपराधिक घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनु भयो ।

प्रहरी अनुसार मदिरा सेवन खुल्ला रहेको कार्तिक, मंसिर र पुस महिनामा ५५ वटा बिभिन्न घटना घटेका थिए भने मदिरा बिक्रिमा रोक लगाईएको माघ र फागुन महिनामा ११ वटा मात्र घटना प्रहरीमा आएका थिए ।

त्यस्तै मदिरा सेवन खुलेको चैतको एक महिनामा नै १८ वटा मुद्धा दर्ता भएको छ । जसमा हत्या, बलात्कार, सवारी दुर्घटना, सार्वजनिक अपराध र महिला हिंसाका घटनाहरु रहेका छन ।