आँधिहुरी प्रभावितका लागि जलविद्युत विकास कम्पनीको ४ लाख राहत

आँधिहुरी प्रभावितका लागि जलविद्युत विकास कम्पनीको ४ लाख राहत
बिहिबार, चैत्र २१, २०७५

काठमाडौ । सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका आँधि हुरी प्रभावितहरुका लागि चार लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले आज(बिहिवार) उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव शिशिरकुमार ढंगानालाई सो राहत रकम हस्तान्तरण गर्नु भएको हो । प्रधानमन्त्री राहत कोषमार्फत् बारा र पर्साका आँधि हुरी प्रभावितहरुका लागि ४ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनु भयो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अध्यक्ष रहने सो कम्पनीको गत बुधबार बसेको बैठकले कम्पनीको सामाजिक उत्तरदायित्व कोषमा रहेको सो रकम बारा र पर्साको आँधि हुरी प्रभावितलाई राहत दिने निर्णय गरेको थियो ।

हालसम्म ३ अर्व ९ करोड मुनाफा आर्जन गर्न सफल सो कम्पनीले राज्यलाई १ अर्व ६५ करोड कर बुझाई सकेको छ ।