आज बिहानैदेखि देशभरको मौसममा बदली, तीन दिनसम्म हावाहुरी सहित वर्षा हुने

शनिबार, चैत्र २३, २०७५

काठमाडौ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज(शनिवार) बिहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकभर मेघ गर्जन र हावाहुरी सहित वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश भू–भागमा सामान्यदेखि पूर्णतया बदली रहने छ । महाशाखले पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारण ३ दिनसम्म हावाहुरी सहित वर्षा हुने भन्दै सतर्क रहन आह्वान गरेको छ ।

सोमबार बेलुकीसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने बिभागले प्रक्षेपण गरेको छ । विशेष गरी पश्चिम र पूर्वका केही स्थानमा सामान्य र मध्य स्थानको मौसम पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । गएरातिबाटै पश्चिमका केही स्थान र पूर्वका केही स्थानमा बदली भएको छ भने मध्य भू–भागको धेरै स्थानमा मेघ गर्जनसहित पानी परिरहेको छ ।

मौसममा देखिएको बदली मध्य भू–भागबाट विस्तारै पूर्वतर्फ सरिरहेको छ । नेपालमा प्रि–मनसुन जारी रहेकाले चट्याङ्, मेघगर्जन सहित हावा हुरी र वर्षा गराउने मौषमी प्रणाली क्रमशः विकास भई रहेको मौसमविद्हरुले उल्लेख गरेका छन् । आज मौसम बढी प्रभावित हुनेछ, आईतवार र सोमवार मौसम सामान्य खुले पनि छिन छिन मै पुनः बदली रहने महाशाखाले उल्लेख गरेको छ ।

काठमाडौं उपत्यका सहित तराईका केही जिल्लामा हावाहुरी सँगै वर्षाको सम्भावना रहेको तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।