कास्कीमा शुरू भयो प्रविधिमा आधारित नमूना कक्षा

कास्कीमा शुरू भयो प्रविधिमा आधारित नमूना कक्षा
मङ्लबार, चैत्र २६, २०७५

पोखराः पोखरा महानगरपालिका– ३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयले प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन गर्ने भएको छ ।

विभिन्न सामुदायिक विद्यालयमा नवीनतम् प्रविधिको अभावका साथै गुणस्तरीयता कायम हुन नसकेको लगायतका कारणबाट विद्यार्थी घटिरहेका वेलामा विद्यार्थी तथा अभिभावकको मन जितेको यस विद्यालयले प्रविधिलाई आत्मसात गर्दै नमूना कक्षा सञ्चालनको तयारी गरेको हो ।

विद्यालयमा नयाँ शैक्षिक वर्षका लागि सञ्चार मन्त्रालयमार्फत आइसिटी ल्याव कार्यक्रम स्वीकृत भइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले जानकारी दिनुभयो ।

प्रविधिमैत्री पूर्वाधार विकास गरी त्यही किसिमको गुणस्तरीय शिक्षा दिने योजनाअनुरुप विद्यालय बढेको बताउँदै उहाँले विद्यार्थी तथा अभिभावकले विद्यालयप्रति गरेको विश्वासलाई अझै बलियो बनाउने उल्लेख गर्नुभयो ।

२०७१ मा ३५० विद्यार्थी रहेको विद्यालयमा २०७२ मा ५२१, २०७३ मा ६९१ र २०७४ मा ९४० विद्यार्थी रहेकामा शैक्षिक वर्ष २०७४ मा एक हजार ९६ पुगेको थियो । प्रधानाध्यापक काफ्लेका अनुसार विद्यार्थीको सहजताका लागि अघिल्ला वर्षमा एउटा विद्यालय बस सञ्चालन गरिँदै आएकामा यस वर्षदेखि अर्को एक गाडी थपिएको छ ।

विद्यालयले विसं २०७१ यता वर्षे र हिउँदे बिदाका रूपमा दिँदै आएको बिदाका समयमा पनि नियमित पठनपाठन गराउँदै आएको छ भने विद्यार्थीको मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन एक शैक्षिक वर्षमा चार चरणमा परीक्षा लिने गरेको छ ।

प्रविधिलाई पनि पछ्याउँदै आएको विद्यालयले अघिल्लो वर्षदेखि सरस्वती टीका मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी हेर्न सकिने उक्त एप्समार्फत अभिभावकले विद्यार्थी विद्यालय पुगे/नपुगेको, गृहकार्य गरे/नगरेको आदि सम्बन्धमा जानकारी पाउन सक्ने व्यवस्था मिलाइएको छ ।