पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज भयो : सरकार प्रवक्ता बास्कोटा

पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज भयो : सरकार प्रवक्ता बास्कोटा
बिहिबार, चैत्र २८, २०७५

काठमाडौ । सरकारले पाँच विकास क्षेत्र अन्तर्गत रहेका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्न आज(बिहिवार) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद् बैठकले दीपायल, धनकुटा, हेटौडा, पोखरा, र सुर्खेतमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको मन्त्री बास्कोटाले बताउनुभयो । ती सबै कार्यालयमा रहेका सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत जाने उहाँले बताउनुभयो ।

बैठकले प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा अब संघ अन्तर्गतका कार्यालयमा पनि बिदा दिइने निर्णय गरेको छ । मन्त्री बाँस्कोटाका अनुसार काठमाडौं उपत्यकामा भने गृह मन्त्रालयको निर्णय बमोजिम बिदाको निर्णय हुनेछ । निजी क्षेत्रको नेतृत्वमा ‘मिनिग्रिड उर्जा पुहँच परियोजना’ का लागि विश्व बैंकबाट प्राप्त हुने ७ दशमलव छ एक मिलियन अमेरिकी डलर सहयोग लिने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले निषेधित क्षेत्रसम्बन्धी संशोधन सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको बास्कोटाले जानकारी दिनुभयो ।