राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि सधै नेपालीको साथमा रहने छु : पूर्वराजा ज्ञानेन्द्र

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि सधै नेपालीको साथमा रहने छु : पूर्वराजा ज्ञानेन्द्र
शनिबार, चैत्र ३०, २०७५

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको प्रष्ट पार्नुभएको छ ।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले गतिशील समयक्रमको प्रवाहसँगै अहिले विक्रम सम्वत २०७६ मा आइपुगेको र नयाँ वर्षले नेपालभित्र र विश्वका विभिन्न भागमा रहेका समस्त नेपालीमा सुख, शान्ति तथा समून्नति प्रवाह गर्ने उल्लेख गर्नुभएको छ ।

पूर्वराजा शाहले विगतको सुक्ष्म समीक्षा गर्दै नव वर्षको स्वागत गर्नुपर्ने र हिजो अस्तिको जस्तो समय बिताउने परिपाटी बाट माथि उठ्नुपर्ने बताउनुभएको छ । नेपाली जनताको घर दैलोमा अनगिन्ति समस्या र दूर्दान्त पीडा आफूले देखेको स्मरण गर्दै शाहले काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने अवस्था अन्त्य हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहने ? शाहले सन्देशमा प्रश्न गर्नुभएको छ ।

स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने नेपाललाई सदा स्वाभिमानी र गौरवशाली राख्न आफ्ना शास्वत आदर्शको ख्याल राख्न आग्रह गर्दै पूर्वराजा शाहले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा यथावत् रहेको पनि उल्लेख गर्नुभएको छ ।