नुवाकोटमा ४४ हजार घरको पुनर्निर्माण सम्पन्न

नुवाकोटमा ४४ हजार घरको पुनर्निर्माण सम्पन्न
बिहिबार, बैशाख १२, २०७६

रामहरि न्यौपाने/नुवाकोट । चार वर्षअघि गएको विनासकारी भूकम्पले क्षति पुगेका मध्ये नुवाकोटमा ४४ हजार घरको पुनर्निर्माण सकिएको छ ।

जिल्ला स्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार भूकम्पले क्षति पुगेका मध्ये चार वर्षको अवधिमा ४४ हजार घर तोकिएको मापदण्ड अनुसार निर्माण सम्पन्न भएसंगै सरकारले उपलब्ध गराउने तीन लाख रुपैयाँ अनुदान वितरण गरिएको छ । भूकम्पले नुवाकोटका ७६ हजार ५ सय ५१ घरमा पु¥याएको मध्ये पुर्ननिर्माणको चार वर्षको अवधीमा ५९ प्रतिशत प्रभावितले मात्र घर निर्माण पूरा गरेर नयाँ घरमा बस्न सुरु गरेका छन् ।

भूकम्पका कारण घर क्षति भएका मध्ये नुवाकोटका ७१ हजार ९ सय ६३ परिवारले भूकम्प प्रतिरोधी घर बनाउन अनुदान बापत पहिलो किस्ताको पचास हजार रुपैयाँ लिएर निर्माण सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । तोकिएको मापदण्ड अनुसार घर बनाउन प्रतिबद्धता जनाएका मध्ये अहिलेसम्म ६४ हजार १ सय ७६ प्रभावितले घरको जग सतह पूरा गरेका प्रभावितलाई दोश्रो किस्ता बापत सरकारले एक लाख पचास हजार रुपैयाँ उपलब्ध गराएको छ ।

भूकम्पका कारण घरको पूर्ण क्षति भएका पीडितलाई नयाँ घर निर्माण गर्न सरकारले तीन चरणमा तीन लाख रुपैयाँ र आंशिक क्षति पुगेका घरको मर्मतका लागी दुई चरणमा एक लाख रुपैयाँ उपलब्ध गराउदै आएको छ । सरकारले पुर्ननिर्माणको प्रगति उत्साहजनक देखाउन प्रभावितलाई आवास निर्माणको समयसीमा निर्धारण गर्दै दवाब स्वरुप घर निर्माणको तथ्याङ्क सङ्ख्यात्मक रुपमा सन्तोषजनक देखाएपनि गुणात्मक रुपमा भने प्रभावकारी नभएको सरोकारवालाहरुले टिप्पणी गरेका छन् । पुनर्निर्माण गरिएका आवासले यसअघि कायम रहेको घरको मौलिकपन तथा साँस्कृतिक पहिचान गुमाएको तथा एकीकृत बस्ती लगायतका विनासपछिको सम्भावित विकासको अवसरलाई अंगिकार गर्न नसकेको पाइएको छ ।

प्रसिद्ध शक्तिपीठ भैरवी देवीको पुनर्निर्माण सुरु भएपनि साततले दरबार, तुलजा भवानी मन्दिर लगातयका संरचनाको पुर्ननिर्माण अझै अन्योलमा रहेका छन् ।