आज मजदुर दिवस, ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन, ८ घण्टा आराम’

आज मजदुर दिवस, ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन, ८ घण्टा आराम’
बुधबार, बैशाख १८, २०७६

काठमाडौँ । प्रमुख राजनीतिक दल सम्बद्ध मजदूर संगठनहरुले अलग अलग कार्यक्रम गरी अन्तराष्ट्रिय श्रमिक दिवस मनाएकााछन् । सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन काँग्रेस र स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बुधबार भिन्ना भिन्नै कार्यक्रम गरी १ सय ३० औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका हुन् । राजनीतिक आस्थाका आधारमा संगठित मजदुर संगठनहरुले बिहान प्रभात फेरी पनि छुट्टा छुट्टै निकालेका थिए । अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट प्रभात फेरी सुरु गरेको थियो । र्यालीमा महासंघमा आवद्ध विभिन्न पेशागत मजदुरहरुको संगठनहरु आ आफ्ना व्यानरमा सहभागी भएका थिए । र्याली भृकुटीमण्डप पुगेर कोण सभामा परिणत भएको थियो ।

त्यसैगरी नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्याली निकालेको थियो । र्याली प्रदर्शनीमार्ग स्थित बालमिकी क्याम्पस पुगेर सभामा परिणत भएको थियो । र्यालीमा नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध विभिन्न पेशागत संगठनका मजदुरहरु सहभागी थिए ।

त्यसैगरी स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बिहान बबरमहलमा प्रभातफेरी गरेको थियो । बबरमहलबाट सुरु भएको र्याली नयावानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

तीन वटै मजदुर संगठनको र्यालीमा सहभागीहरुले मजदूरहरुमाथिको श्रम शोषण रोकिनुपर्ने माग गरेका थिए । उनीहरुले मर्यादित जीवन र सुरक्षित भविष्यका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५, श्रम ऐनको कार्यान्वयन गर्न माग गरे । त्यसैगरी उद्योग, प्रतिष्ठान, व्यवसाय र श्रमिकको सूचिकरणलाई कडाईका साथ अघि बढाउन पनि उनीहरुले माग गरे ।

सरकारले मजदूरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेपनि पुर्णतया कार्यान्वयन हुन नसकेको तथा न्युनतम पारिश्रमिक पनि न्युन भएको भन्दै मजदुरहरुले विरोध गर्दै आएका छन् ।आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरमा मजदूरहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जना श्रमिकको सम्झनामा सन् १८८९ को मे १ देखि विश्व मजदूर दिवस मनाउन थालिएको हो ।