वीरगञ्जबाट भारतीयलाई नागरिकता बाँडेको आरोप

वीरगञ्जबाट भारतीयलाई नागरिकता बाँडेको आरोप
बुधबार, बैशाख १८, २०७६

आबिद हुसेन/पर्सा । नागरिकता सम्बन्धि विधेयक संसदमा विचारधीन अवस्थामा छ ।

सरकारले २०६३/६४ मा गाउँगाउँ पुगेर नागरिकता वितरण गरेकाहरुको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेपछि पर्साको वीरगञ्जसहित तराईका विभिन्न जिल्लामा नागरिकता लिनेको भीड लाग्न थालेको छ । वैशाख २ गते सर्वोच्च अदालतले जन्मसिद्धको सन्तानलाई बंशज नागरिकता वितरण गर्ने बाटो खुलाइदिएपछि जिल्ला प्रशासनमा नागरिकता लिनेको भिड बढेको हो ।

नियमित प्रक्रियामा नागरिकता दिन नसक्ने भएपछि अहिले वीरगञ्जमा टोकन प्रणाली लागू भएको छ । जसले गर्दा नागरिकता लिन एक हप्ता पर्खनुपर्ने सेवाग्रहीको भनाई छ । यसरी लाइन लागेर नागरिकता लिने नेपाली नभई भारतीय नागरिक रहेको भन्ने आशंका गर्ने पनि धेरै छन ।

जिल्ला प्रशासन कार्यालय अघि फोटोकपी गर्दै बसेका एक युवाले नागरिकता लिन आउनेले स्पष्ट नेपाली बोल्न नसकेको तथा आफूहले यसअघि कहिल्यै नदेखेको बताए । स्थानीयको आरोपलाई जिल्ला प्रशासन कार्यालयले भने खण्डन गरेको छ ।

केही व्यक्तिसँग नक्कली कागजात भेटेपनि त्यस्तालाई नागरिकता वितरण नगरेको र कानुन विपरीत काम गर्नेलाई कानुनी दायरामा ल्याउने जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ । संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक पारित नभई वितरण गरिएको नागरिकताले धेरै प्रश्न उब्जाएको छ ।