पानीको भुमिगत् श्रोत सुक्दैः काठमाडौमा समस्या

पानीको भुमिगत् श्रोत सुक्दैः काठमाडौमा समस्या
बुधबार, बैशाख १८, २०७६

अञ्जना लामिछाने । मुलुककै राजधानी काठमाडौमा खानेपानीको समस्या वर्षौंदेखि विकराल छ ।

बढ्दो जनसंख्या र तीव्र सहरीकरणका बीच पानीको सहज आपूर्ति नहुंदा भूमिगत सतहबाट पानी दोहन गर्ने बाध्यात्मक परिस्थिति छ । जमिनमुनि पानीको सतह सुक्दै गएपछि अहिले उपत्यकामा अधिकांश पुराना धारा तथा सयौं वर्षपुराना इनार सुकेका छन् । जीवन धान्नैका लागि उपत्यकावासीले दैनिक औसत २ करोड बराबरको पानी किनेर खाने गरेको अध्यनले देखाएको छ ।

काठमाडौ उपत्यकाको वितरण प्रणालीबाट उपलब्ध पानी समेत जनस्वास्थ्यका हिसावले हानिकारक मानिन्छ । भुमिगत् पानी पनि त्यही गुणस्तरको छ । तर पनि भुमिगत् श्रोत नै दोहन गरेर उत्पादन गरिएको दैनिक ३५ लाख रुपैंया बराबरको जारको पानी र ७० लाख भन्दा बढीको मिनरल वाटर काठमाडौमा किनबेच हुने गरेको छ । पानी ब्यापारीे चलाएका ७ सय भन्दा बढी ट्यांकरको श्रोत पनि भुमिगत पानी नै हो ।

विज्ञहरुका अनुसार, काठमाडौं उपत्यकामा अहिले गुणात्मक रुपमा पानीको खपत बढिरहेको छ र भुमिगत् स्रोत सुक्दै गएकाले मेलम्चीको पानी आईपुगेपनि यसले काठमाडौंको माग धान्न सक्दैन ।

अध्ययन अनुसार काठमाडौ उपत्यकामा दैनीक ४० करोड लिटर पानीको माग छ । तर हालको बितरण प्रणालीबाट वार्षिक करीब ११ करोड लिटर पानी मात्र बितरण भईरहेको छ । यस बाहेक काठमाडौं उपत्यकामा दैनिक करिब ८ करोड लिटर भुमिगत पानी दोहन भईरहेको छ ।

त्यसमा पनि ७ करोड लिटर पानी दोहन अवैध तरिकाले भइरहेको छ । काठमाडौमा पानी वितरण गर्ने केयुकेल बाहेक उपत्यकामा ७०० भन्दा बढी कम्पनीले भुमिगत पानी दोहन गरेर बेची रहेका छन् । यो क्रम तत्काल नरोकीए स्रोतहरू सुक्ने र काठमाडौंले अकल्पनीय संकट भोग्नुपर्ने निश्चित छ ।

३ दशकयता काठमाडौमा भुमीगत पानीको श्रोत कुन अवस्थामा छ भन्ने आधिकारीक अध्यन भएको छैन । ३० वर्ष अघि जाइकाले गरेको अध्यन अनुसार दैनिक डेढ करोड लिटर भुमिगत पानी प्रयोग गर्न सकिने उल्लेख थियो । तर ३० वर्ष यता उपत्यकाको जनसंख्या र पूर्वाधार प्रक्षपण गर्नै नसकिने गरि बढेको छ ।