अख्तियारमै अनियमितता, एक बर्षमा ३ करोड भन्दा बढी पेस्की बेरुजु

अख्तियारमै अनियमितता, एक बर्षमा ३ करोड भन्दा बढी पेस्की बेरुजु
शुक्रबार, बैशाख २०, २०७६

श्रीकृष्ण सुवेदी । सार्वजनिक निकाय र क्षेत्रमा हुने अनियमितता छानविन गरी कारबाहि गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै आर्थिक अनियमिता भइरहेको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षक कार्यालयका अनुसार अख्तियार मै एक बर्षको अबधीमा ३ करोड भन्दा बढी पेस्की बेरुजु छ । त्यसोत, सार्वजनिक सेवा, पद र निकायमा हुने अनियमितता छानविन गरी कारबाहि गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैं अनियमिततामा डुव्न थालेको छ ।

अख्तियारका आयुक्त राजनारायण पाठकको घुस काण्ड सेलाउन नपाउंदै आयोगमा एक बर्ष मै कुल बजेटको ३ दशमलब ३ प्रतिशत पेस्की बेरुजु देखिएको छ । विगतका वर्षहरुमा बेरुजु नरहेको आयोगमा यो वर्ष ३ करोड ६ लाख ६२ रुपैंया पेस्कि बेरुजु महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । पछिल्लो समय भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको तथ्यबाट पनि प्रष्ट हुन्छ कि नेपालमा भ्रष्टाचारको जालो दिनप्रतिदिन बढिरहेको छ ।

तर, अख्तियार भित्रकै अनियमितता भने आश्चर्यको विषय बनेको छ । सरकारी निकायमा उदासीनता तथा सार्वजनिक तहमा रहेकाहरूको उत्तरदायित्व र जबाफदेहीता अभावका कारण नेपालमा आर्थिक अनियममितता र अराजकता बढ्दै गएको जानकारहरुको ठम्याइ छ । भ्रष्टाचार नियन्त्रणको सवालमा राजनीतिक उदासीनता र नियमनकारी निकाय कमजोर बनेकाले अपेक्षित रूपमा भ्रष्टाचार घट्न नसकेको हो । प्रशासनिक संयन्त्र चुस्त र राजनीतिक इमान्दारी नभएसम्म भ्रष्टाचार घट्न नसक्ने विज्ञहरू बताउंछन् ।