नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत
शुक्रबार, बैशाख २०, २०७६

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव रहेको भन्दै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभयो । हरेक दिन एक कदम अगाडि बढ्ने शैली साथ सरकारले काम गरिरहेको भन्दै राष्ट्रपतिले समृद्धिको आधार तय भएको बताउनुभयो ।

वर्तमान सरकार गठनपछि राष्ट्रिय अखण्डता र एकता सुदृढ भएको, पुनःनिर्माण उल्लेखनीय भएको, एक हजार किमी सडक कालोपत्र भएको, थप ३०० पुलको निर्माण सम्पन्न भएको र डिजिटल नेपालको कार्यढाँचा तयार भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको नीति तथा कार्यक्रममार्फत राष्ट्रपतिले उल्लेख गर्नुभयो । उहाले त्रिभुवन बिमानस्थल २४ घण्टा सञ्चालन गर्ने र बुटिक बिमानस्थल बनाउने काम भइरहेको जानकारी दिनुभयो ।

मुलुकमा जनताको जलविधुत आयोजना अन्तर्गत जनताको सहभागीतामा जलविद्युत आयोजनाहरु पनि तीव्र रुपमा निर्माण भइरहेको राष्ट्रपतिले बताउनुभयो । जनता आवास सुविधा उपलब्ध गराइएको, विद्यालय बाहिर रहेकामध्ये ८१ प्रतिशत विद्यार्थीलाई भर्ना गरिएको, प्राविधिक विद्यालय स्थापना शुरु भएको, १६ लाख नेपालीको स्वास्थ्य बीमा गरिसकिएको र भारत र नेपाल जोड्ने रेलमार्ग निर्माणको प्राविधिक कार्य सम्पन्न हुनुलाई राष्ट्रपतिले सरकारको सफलता भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले चीनको हालै भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको दाबी गर्नुभयो । चीनले नेपालको समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्न हर सम्भव साथ दिने प्रतिवद्धता व्यक्त गरेको उहाले बताउनुभयो । त्यस्तै सरकारले नीति तथा कार्यक्रम मार्फत नै सामाजिक सुृरक्षा भत्ता वृद्धि गर्ने घोषणा गरेको छ ।