फानी कमजोर बन्दै

फानी कमजोर बन्दै
शनिबार, बैशाख २१, २०७६

काठमाडौं । काठमाडौ उपत्यकासहित मध्य क्षेत्रमा आज घाम लागेको छ । पूर्व र पश्चिमको मौसम भने सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ । हिजो बदली गराएको चक्रवात फानी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वमा असर पारेको चक्रवात फानी कमजोर हुँदै गएको छ र आज बेलुकीपछि पूर्वको मौसम पनि खुल्दै जानेछ ।

तर फानीकै प्रभावले दिउँसो पूर्वमा मेघ गर्जन र हुरीबतास सहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै पश्चिमी वायुको प्रभावले पश्चिमको मौसम पनि बदली हुनेछ । प्रिमनसुन भएकाले हुरी बतास र चट्याङ परे पनि तीव्र गतिको हुरीबतास र चट्याङ भने नपर्ने महाशाखाले जनाएको छ । हिजो अस्तिको बादल बाँकी रहेकाले बेलुकीपख काठमाडौ उपत्यकाको केही ठाउँमा पानी पर्न सक्ने सम्भावना छ ।