अस्पतालको लापरबाहीले डा. विमल अग्रवालको मृत्यू भएको आरोप, छानविन गर्न परिवारको माग

title
बुधबार, जेष्ठ ८, २०७६

विराटनगर-आम नागरिक आफ्नो स्वास्थ्यका बारेमा सचेत हुन्छन । अन्य मानिसको स्वास्थ्य उपचार गर्ने डाक्टर आफ्नो स्वास्थ्य प्रति झन सचेत हुन्छ । तर विराटनगरमा भने सचेतता अपनाउँदा अपनाउँदै एक चिकित्सकको मृत्यु भएको छ ।

आफूलाई असहज भएपछि स्वास्थ्य समस्या आएको हो कि भनेर चेकजाँच गर्न अस्पताल पुगेका डाक्टर निको भएर घर फर्कन सकेनन् । यो प्रसंग विराटनगरका बरिष्ठ बालरोग विशेषज्ञ डा विमल अग्रवालको हो । उनी आफै सवारी चलाएर उपचारका लागि अस्पताल गएका थिए ।

बैशाख २३ गते सोमबार देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल गएका थिए । चिकित्सकको सल्लाह बमोजिम सामान्य उपचार गराएर फर्किएका उनी पुनः भोलिपल्ट बैशाख २४ गते श्रीमतीका साथ अस्पताल पुगे ।

उनको एन्जियोग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीर रूपमा नलिइदिंदा उनको मृत्यु भएको भन्दै आफन्त रुष्ट बनेका छन् । उपचारकै क्रममा ब्रेनडेथ भएपछि कोमामा पुगेका डा. बिमलको मंगलबार राति १०.३० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पिटलमा निधन भएको हो ।

पूर्व क्षेत्रकै चर्चित वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल ‘ब्रेनडेथ’ का कारण निधन भएको घोषणा गरिएपछि उनका आफन्तले ‘अस्पतालको चरम लापर्वाही’ भनेका छन् । अग्रवालको एन्जियोग्राफीपश्चात भएको स्वास्थ्यको प्रतिकूलतालाई लिएर चिकित्सक र आफन्तहरूले गम्भीर प्रश्न उठाएका हुन् ।

विमलका बाबु श्रावरमल अग्रवालका अनुसार एन्जियोग्राफी गराएपश्चात् ज्वरो आउन शुरु भएपछि उनलाई दुखाइ कम गर्ने र निद्रा लाग्ने औषधी दिइएको थियो । औषधी व्यवसायी रहेका श्रावलमल औषधीको डोजले पूर्ण बेहोस भए पनि एन्जियोग्राफी गर्दा दिइएको औषधीले दिमागमा असर गरेको हुनसक्ने बताए ।

विमलका सहकर्मी एवम् विराटनगर राउण्ड टेबल–११ का संस्थापक अध्यक्ष विकास बेगानीले चिकित्सकले चरम लापर्वाही गरेको आरोप लगाएका छन् । २४ गते मंगलबार राती विराटनगरस्थित न्युरो अस्पतालका विशेषज्ञहरूको टोलीसहित भारतको मेदान्त अस्पतालका विशेषज्ञको टोलीले समेत उनको अवस्था हेरेको थियो । समयमै उनको अप्रेसन भएको भए जीवन जोखिममा नपर्ने चिकित्सकहरु बताउँछन् ।

डा.बिमलका मामा प्रमोद अग्रवालले यस घटनाको स्वतन्त्र छानविन गर्नुपर्ने माग गरेका छन् ।

विमलको उपचारमा संलग्न नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर राजेश नेपालले यो दुर्लभ समस्या भएको बताएका छन् । उनले किताबमा समेत १० हजार केसमा ३–४ ओटामा यस्तो समस्या आउने भन्दै हरप्रयास गर्दा पनि डाक्टर विमलको स्वास्थ्यलाई सामान्य अवस्थामा ल्याउन नसकिएको बताएका छन् ।

मंगलबार ज्यान गुमाएका विमल ४२ वर्षका थिए । विराटनगरका स्थानीय अग्रवाल विगत ६ वर्षदेखि कोशी अञ्चल अस्पतालमा कार्यरत थिए । उनी अन्य अस्पतालमा पनि बालरोग विशेषज्ञको सेवा दिँदै आएका थिए ।