सीपीएलमा छनोट भएसँगै सन्दीपले लेखे– मेरो नयाँ परिवारमा सामेल हुन पर्खिन सक्दिनँ

सीपीएलमा छनोट भएसँगै सन्दीपले लेखे– मेरो नयाँ परिवारमा सामेल हुन पर्खिन सक्दिनँ
बिहिबार, जेष्ठ ९, २०७६

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा छनाेट भएसँगै नयाँ परिवारमा सामेल हुन आतुर रहेकाे बताएका छन् ।

सीपीएलको ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा किनेको हो । उनी बार्बाडोजमा आवद्ध भएसँगै फेसबुकमा लेखेका छन्- ‘मेरो नयाँ परिवारमा सामेल हुनका लागि पर्खिन सक्दिनँ । सवैलाई धन्यवाद जसले मेरा लागि माया र सद्भाव देखाउनुभयो । जय नेपाल ।’

अघिल्लो सिजनमा सेन्ट नेभिस एण्ड पेट्रियट्सबाट ५ हजार डलरमा खेलेका सन्दीपको यो सिजनमा एकाएक बढेको हो ।
पछिल्लो एक वर्ष विश्वका ठूला फ्रेन्चाईज लिगमा आफूलाई महत्वपूर्ण खेलाडीका रुपमा उपस्थित गराउँदै आएका सन्दीपका लागि यो सिजनको सीपीएलका लागि बार्बाडोजले ७० हजार अमेरीकी डलरको मूल्य तिरेको हो ।

नेपाली राष्ट्रिय टोलीसँगै सन्दीपले विभिन्न लिगहरुमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन् । सन्दीपले अघिल्लो सिजनमा पेट्रियट्सबाट ५ खेल खेलेर १ सय ६ रन खर्चिदै ७ विकेट लिएका थिए । सन्दीपले २०१८–०१९ को सिजनमा अस्ट्रेलियाको बीग बास लिग (बीबीएल) मेलबर्न स्टार्सबाट खेलेका थिए ।

त्यस्तै, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग हुँदै आईपीएलमा आफ्नो दोस्रो सिजन पनि दिल्ली क्यापिटल्सबाटै खेलेका थिए ।