भारतीय चुनावको मतपरिणाम आउनेक्रम जारी, मोदीले दोस्रो कार्यकाल सम्हाल्ने करिब पक्का

भारतीय चुनावको मतपरिणाम आउनेक्रम जारी, मोदीले दोस्रो कार्यकाल सम्हाल्ने करिब पक्का
बिहिबार, जेष्ठ ९, २०७६

हिमाल कोइराला

भारतमा भएको आम निर्वाचनपछिको मतगणनाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले दोश्रो कार्यकाल समेत सम्हाल्ने देखिएको छ । उनको भारतीय जनता पार्टी एक्लैले ३ सय सिटभन्दा धेरै जित्ने देखिएको छ भने कांग्रेस पार्टीले भने अनपेक्षित पराजय व्यहोर्ने देखिएको छ ।

भारतमा ६ साता लामो आम चुनावपछि चलिरहेको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भापजाले भारी बहुमत ल्याउने देखिएको छ । मतपरिणाम अनुसार भारतको तल्लो सदन लोकसभाका ४ सय ४२ सिटमध्ये भाजपा एक्लैले ३ सयको हाराहारीमा तथा भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीए समेतले ३ सय ५० सिट जित्ने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकार निर्माणका लागि कबेल २ सय ७२ सिट आवश्यक पर्ने अवस्थामा यसपटक भाजपा एक्लैले सरकार गठन गर्ने साम्मथ्र्य राख्छ । यो चुनावमा विपक्षी कांग्रेस पार्टीको प्रदर्शनमा नगण्य सुधार त देखिएको छ तर यसअघि सोचिएजस्तो जादु नै भने कांग्रेसले चलाउन सकेन । ५० सिटको हाराहारीमा अग्रता बनाएको कांग्रेस पार्टीका प्रमुखले नै उत्तर प्रदेशमा निर्वाचन हार्ने अवस्था देखिएको छ ।

उत्तर प्रदेशमा गान्धी परिवारको गढ नै मानिने अमेठीको निर्वाचन क्षेत्रमा भाजपाकी उम्मेद्वार स्मृति इरानीले कांग्रेस पार्टीका प्रमुख राहुल गान्धीलाई नै पराजित गर्ने अवस्था देखिइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले साँस्कृतिक राष्ट्रवादी तथा भारतलाई कुशल नेतृत्व दिनसक्ने गरी जनतालाई आकर्षित गर्नसक्ने पपुलिष्ट छवि कायम गरेका थिए । जनताले उनको यही छवि मन पराएको हुनसक्छ ।

त्यसबाहेक उनले आर्थिक नीति तथा बहुसङ्ख्यक हिन्दुहरुलाई साँस्कृतिक राष्ट्रवादको नाममा आकर्षित गर्ने कदम पनि भारतीयहरुले मन पराएको हुनुपर्छ । अर्कोतर्फ विपक्षी कांग्रेस पार्टीका प्रमुख राहुल गान्धीको नेतृत्व क्षमतामाथि धेरै पहिले देखि नै प्रश्न उठ्दै आएको थियो । पछिल्लो केही समययता उनले आफ्नो नेतृत्व क्षमतालाई विकास गर्ने प्रयास नगरेका पनि होइनन् ।

तर, मतदाताले उनको नेतृत्व क्षमता आँकेर नै कांग्रेसलाई पत्याएनन् । फलस्वरुप उनी आफ्नै परम्परागत निर्वाचन क्षेत्र अमेठीमा समेत पराजित हुनसक्ने अवस्था आएको छ । जे होस्, नरेन्द्र मोदीलाई पुनः एकपटक भारतीयहरुले पत्याएर प्रधानमन्त्रीका रुपमा दोश्रो कार्यकाल सञ्चालन गर्न दिने भएका छन् । उनको दोश्रो कार्यकालमा के कस्ता उपलब्धी हुन्छन्, त्यो हेर्न भने समय कुर्नुपर्ने हुन्छ । सगरमाथा टेलिभिजनका लागि हिमाल कोइरालाको रिपोर्टड्ड