प्रतिपक्षी दल पनि हुनै नसक्ने गरी कांग्रेसको पराजय ?

प्रतिपक्षी दल पनि हुनै नसक्ने गरी कांग्रेसको पराजय ?
शुक्रबार, जेष्ठ १०, २०७६

हिमाल कोइराला
भारतमा भएको पछिल्लो आम निर्वाचनमा भारतीय जनता पार्टीले विशाल बहुमत ल्याउँदा कांग्रेसको भने लज्जास्पद पराजय भएको छ । पार्टी प्रमुख राहुल गान्धी आफ्नो परम्परागत निर्वाचन क्षेत्र अमेठीमा पराजित भए । त्यस्तै कांग्रेस लगातार दुई पटक संसद्मा विपक्षी दलको भूमिकामा समेत नआउने निश्चित बन्यो ।

भारतमा चैत २८ बाट जेठ ५ गतेसम्म सात चरणमा भएको आम निर्वाचनको मत परिणामले सत्तारुढ दल भारतीय जनता पार्टी विजयी उत्सव मनाइरहँदा विपक्षी दल कांग्रेस कार्यकर्ता पराजयकै कारण निराश देखिन्थे । यो आम चुनावमा भाजपालाई भारतीय जनताले सरकार बनाउन आवश्यक बहुमत मात्रै दिएनन्, अघिल्लो निर्वाचनमा भन्दा बढी सिटमा जिताएर प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालप्रति आफूहरु सन्तुष्ट रहेको समेत जनाउ दिए । अर्कोतर्फ कांग्रेस पार्टीका हालत भने निकै नै लज्जास्पद रह्यो।

कांग्रेसले अघिल्लो चुनावको तुलनामा केही सङ्ख्यात्मक सुधार त गर्यो, तर त्यो सुधारले लज्जास्पद चुनावी नतिजालाई ढाक्न सकेन । ३ सयभन्दा धेरै सिट जितेको भाजपा अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालका लागि सरकार बनाउने तयारीमा छ भने ५२ सिटमा चित्त बुझाएको कांग्रेस पार्टी भने के कारणले यस्तो लज्जास्पद नतिजा हातपर्‍यो र चुनावी अभियानमा के चुक भयो भन्ने सघन बहसमा जुटेको छ ।

पार्टी प्रमुख राहुल गान्धीले नै आफ्नो परम्परागत निर्वाचन क्षेत्रमा पराजय व्यहोरेबाट यो चुनावमा कांग्रेसको अवस्था कस्तो रह्यो भन्ने छर्लङ्गै हुन्छ । उनी उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा भाजपाकी उम्मेद्वार तथा वर्तमान केन्द्रीय मन्त्री स्मृति इरानीसँग पराजित भए । आम निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रबाट आएको सबैभन्दा अनपेक्षित तथा ठूलो नतिजा सायद यही थियो ।

अमेठीको नतिजा किन पनि महत्वपूर्ण छ भने पछिल्लो १५ वर्षयता यहीँबाट राहुल गान्धीले संसद्मा प्रतिनिधित्व गरेका थिए । २० वर्षयता कांग्रेस पार्टीका उम्मेद्वार यस निर्वाचन क्षेत्रमा विजयी भएका थिए । यद्यपि दक्षिण भारतको केरला राज्यस्थित वायनाड निर्वाचन क्षेत्रमा विजयी भएका गान्धीको लोकसभामा प्रतिनिधित्व भने निश्चित छ ।

कांग्रेसले यतिसम्मको नराम्रो प्रदर्शन गर्ला भन्ने पनि कसैले सोचेको थिएन । कांग्रेस पार्टी विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकमा बलियो र प्रभावशाली प्रतिपक्षको भूमिकामा रहला भन्ने अधिकांशको अपेक्षा थियो । तर, आम निर्वाचनको नतिजाले भने कांग्रेस पार्टीले संसद्मा लगातार दोश्रो पटक विपक्षी पार्टीको दर्जा नपाउने देखिएको छ ।

भारतीय प्रावधान अनुसार विपक्षी पार्टीको दर्जा पाउन संसद्को दोश्रो ठूलो पार्टीले कुल सिटको १० प्रतिशत सिट जित्नुपर्छ । यसअनुसार ५ सय ४५ सिट रहेको भारतीय संसद्मा विपक्षी दल बन्न दोश्रो ठूलो पार्टीलाई कम्तीमा ५४ सिट चाहिन्छ, तर कांग्रेस भने यो पटक ५२ सिटमा खुम्चेर अघिल्लो पटकको जस्तै नियती दोहोर्‍याएको छ ।

सायद छिटै कांग्रेसले पछिल्लो नतिजाबारे सघन बहस गरी यसको समिक्षा गरी आफ्नो पार्टीलाइ भारतीय राजनीतिमा पुनः प्रभावशाली बनाउने छ ।