भ्रष्टाचार मुद्दामा प्रमुख सेनानी केशवराज कार्की बर्खास्त : केन्द्रीय कारागार चलान

भ्रष्टाचार मुद्दामा प्रमुख सेनानी केशवराज कार्की बर्खास्त : केन्द्रीय कारागार चलान
शनिबार, जेष्ठ ११, २०७६

काठमाडौँ : नेपाली सेनाको प्रमुख सेनानी केशवराज कार्की बर्खास्त भएका छन् । उदयपुरस्थित कालिसिद्धी गणमा प्रमुख सेनानीका रुपमा कार्यरत कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्त भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

आर्थिक अनियमितता गरेको उजुरीपछि जनरल समरी सैनिक अदालतले उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरी तीनमहिना कैद र अनियमितता भए विगोबमोजिमको जरिवाना समेत तिर्न आदेश गरेको हो। कार्कीलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको छ।

कार्की कालिसिद्धी गणमा रहँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो।

उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीमाथि ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो। जसको आधारमा २३ वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो ।

कार्कीले समरी अदालतको आदेश चित्त नबुझे सेनाभित्रकै विशेष अदालतमा पुनरावेदन दिनसक्ने व्यवस्था छ ।