प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : एपिएफबाट प्रदेश नम्बर ३ लाई २८९ रनको लक्ष्य

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : एपिएफबाट प्रदेश नम्बर ३ लाई २८९ रनको लक्ष्य
शनिबार, जेष्ठ ११, २०७६

काठमाडौ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विभागीय टिम एपीएफले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८८ रन बनायो । एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेले । एपीएफको उच्च स्कोरमा सुमितले ९४ रनको योगदान दिए । पृथुले ५९ रन बनाए ।

यस्तै प्रदीप सिंह ऐरीले ४० रन जोड्दा अमर सिंह रौटेलाले अविजित २७ रन बनाए । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा मैदानमा उत्रिएको प्रदेश ३ का नन्दन कुमार यादव र जितेन्द्र ठकुरीले ३र३ विकेट लिए ।

यसअघि शुक्रबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले क्लबले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा तीन विभागसहित ७ प्रदेशले सहभागिता जनाएका छन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।