युवामा बढ्दैछ मुटु रोगको जोखिम

title
बिहिबार, जेष्ठ १६, २०७६

शान्ता लम्साल
काठमाडौं-पाको उमेरसँगै धनाढ्य व्यक्तिमा लाग्ने मुटु रोगको परिचय पछिल्लो समय फेरिन थालेको छ । विश्वमा हिजो आज यो रोगले युवा पुस्तालाई जोखिममा पारेको छ । अव्यवस्थित जीवन शैली र अस्वस्थकर खानपानका कारण मुटु रोग लाग्ने विशेषज्ञहरु बताउँछन् ।

‘मुटु’ मानव शरीरको अत्यन्तै संवेदनशिल अंग । हुनेखाने र धनाढ्यहरुलाई मात्र लाग्ने गरेको भनिएको मुटुरोगको अचेल युवापुस्तामा बढ्दै गएको छ । रोगका कारण हुने मृत्युमो २५ देखि ३० प्रतिशत मुटु रोगकै कारण हुने गरेको विज्ञहरु बताउँछन् ।

जन्मजात कारण, घाँटीको संक्रमणका कारण मुटुको भल्भ बिग्रेर हुने बाथ मुटु रोग र अव्यवस्थित जीवनशैलीका कारण यो रोगका बिरामी बढिरहेका छन् । अस्वस्थकर खानपान र व्यस्त जीवनशैली मुटुरोगको प्रमुख कारण रहेको बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार विश्वमा बर्षेनी झण्डै २ करोड मानिसको मृत्यु मुटु रोगका कारण हुने गरेको छ । रोकथामको उपाय नअपनाउने हो भने सन् २०२० सम्ममा यो रोगले महामारीको रुप लिन सक्ने विज्ञहरुको भनाइ छ ।

सम्पन्न वर्गका मानिसहरुले खानपानमा ध्यान दिने र आफ्नो स्वास्थ्य प्रति ख्याल राख्ने हुनाले विपन्न वर्ग, त्यसमा पनि युवा समुह मुटु रोगका शिकार बन्ने गरेको विश्लेषकहरुको भनाई छ । नेपालमा मुटु रोगबाट मृत्यु हुनेको एकिन तथ्याङक नभएपनि रोगीको संख्या दिनानुदिन बढिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

मुटु रोगबाट बच्न धुम्रपान, मद्यपान नगर्ने, जंकफुड नखाने, मानसिक तनाव नलिने, सागसब्जी र फलफुलमा बढि जोड दिने र नियमित स्वास्थ्य परिक्षण गराउनुपर्ने बिशेषज्ञको सुझाव छ ।