चलचित्र कलाकार संघलाई चुनावी चटारो

चलचित्र कलाकार संघलाई चुनावी चटारो
शुक्रबार, जेष्ठ २४, २०७६

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको नेतृत्वको लागि उम्मेद्वारबीच तिब्र प्रतिस्पर्धा चलेको छ। नेतृत्व हत्याउन प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका कलाकारहरु अहिले आफ्नो अन्तिम प्रतिस्पर्धामा केन्द्रीत छन्। शनिबार (जेठ २५) गते हुने निर्वाचनको लागि उम्मेद्वारहरु मतदातासँग मत मागिरहेका छन्।

अध्यक्षका लागि पूर्वअध्यक्ष रवीन्द्र खड्का र वर्तमान महासचिव सरिता लामिछानेबीच कडा टक्कर चल्ने देखिएको छ भने  दुई उपाध्यक्षका लागि ४ जना र महासचिव पदको लागि २ जनाको उमेदवारी परेको छ। कोषाध्यक्ष पदमा भने सुनिल कटुवालको मात्र उम्मेदवारी परेको कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।

महासचिवका उम्मेद्वार सञ्जय खतिवडाले कलाकारसंघ सम्पूर्ण कलाकारको प्रतिष्ठासँग जोडिएकाले संघको प्रतिष्ठा र गरिमाको लागि आफू चुनावी मैदानमा लागेको बताए । पछिल्लो समय कलाकार राजनीतिक स्वार्थमा प्रयोग हुने गरेको भन्दै महासचिवका उम्मेद्वार खतिवडाले आफ्ने सम्पूर्ण प्रयास संघको सुदृढीकरणमा हुने बताएका छन्।

संघमा पटक-पटक सदस्यता सम्बन्धी विवाद आउने गरेको भन्दै महासचिवका उम्मेद्वार खतिवडाले आफुले विजय हासिल गरेमा यसको दीर्घकालिन समाधानको लागि वैधानिक व्यवस्था गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।