गुठी समान्तवादसँग जोडिएको सरकारका प्रवक्ताको भनाई : लोकसेवा रोक्ने नरोक्ने निर्णय प्रधानमन्त्री फर्किएपछि हुने

गुठी समान्तवादसँग जोडिएको सरकारका प्रवक्ताको भनाई : लोकसेवा रोक्ने नरोक्ने निर्णय प्रधानमन्त्री फर्किएपछि हुने
बिहिबार, जेष्ठ ३०, २०७६

काठमाडौं । सरकारले गुठी सामन्तवादसँग जोडिएको भन्दै यसको समस्या समाधान गर्न गुठी विधेयक ल्याएको बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाले सरकारका निर्णय र धारणा सार्वजजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा गुठी, हलिया, कमलरी प्रथा सामन्तवादसँग जोडिएको बताए । उनले  त्यही समस्या समाधानका लागि गुठी विधेयक आएको बताए।

‘गुठी, हलिया, कमलरी प्रथाले सामन्तवादी आर्थिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्छ,’ मन्त्री बाँस्कोटाले पत्रकारलाई प्रतिप्रश्न गर्दै भने, ‘हामीले सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने?, किसानका भूमिसँगको समस्या समाधान गर्ने कि नगर्ने?’ उनले भूमिहीन किसानको समस्या समाधान गर्नकै लागि गुठी विधेयक ल्याएको दावी गरे। काठमाडौ उपत्यका र उपत्यका बाहिर गुठीका विशेषाता फरक फरक रहेको भन्दै समसुयाको समाधान पनि फरक रुपमा गर्ने बताए।

उनले सरकार चोकैचोकको विशाल राजमार्गमा हिँडेकोऊ भन्दै कहिलेकाहीँ समस्या आउनु समान्य भएको बताए। ‘कानुन नभए कानुन बनाएन भन्नुहुन्छ, कानुन बनाए विरोधमा उत्रिनुहुन्छ?,’ मन्त्री बास्कोटाले भने, ‘गुठी विधेयक मार्फत गरिएको परिवर्तन एकप्रकारको छलाङ पनि हो।’

मन्त्री बाँस्कोटाले लोक सेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि निकालेको विज्ञापन संविधानसम्मत रहेको दावी गरे। उनले संसदीय समितिको निर्देशन अनुरुप रोक्ने वा नरोक्ने बारे निर्णय भने प्रधानमन्त्री फर्किएपछि मात्र गरिने बताए।

‘लोक सेवा आयोगको विज्ञापन के हुन्छ?’ भन्ने पत्रकारको प्रश्नमा मन्त्री बाँस्कोटाले पत्रकारलाई नै प्रतिप्रश्न गरे । भने, ‘निकै कठिन प्रश्न सोध्नुभयो। तपाईंहरूलाई नै सोध्छु खासमा के हुनुपर्थ्यो ?’ संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले लोकसेवाको विज्ञापन संविधान अनुरुप नरहेको भन्दै रोक्न निर्देशन दिएपछि अन्योल बढेको छ। सरकारले निर्णय नगरेका कारण आयोगले विज्ञापन रोकेको छैन। मन्त्री बाँस्कोटाले भने सांसदहरूले आयोगको विज्ञापन स्थगित गर्न दिएको निर्देशन नीति नियम हेरेरै दिएको हुनुपर्ने भन्दै व्यङ्ग्य गरे।

‘निर्देशन दिने माननीयजीहरूले नीति नियम हेरेर दिनुभएको होला,’ उनले भने, ‘संसदको समितिले दिएको निर्णयमा मैले केही भन्नुपरेन, तर संविधानअनुसार नै विज्ञापन आएको हो।’

उनले रोक्ने वा नरोक्ने निर्णय प्रधानमन्त्री फर्किएपछि मात्र हुने बताए। ‘प्रधानमन्त्रीलाई आउन दिनुस्। सरकारको तर्फबाट संविधानको भावना मिचेर काम गरेजस्तो लाग्दैन,’ उनले पत्रकारलाई व्यङ्ग्य गर्दै भने ‘आ गर्दा अलंकार बुझ्नुहुन्छ, शीर्षक बनाइदिनुहुन्छ। बुझ्नुभयो होला नि।’विज्ञापन स्थगित हुने वा नहुनेबारे उनले प्रष्ट बताएनन्।