अरुणाञ्चल प्रदेशमा विमान दुर्घटना : सवार १३ जनाकै ज्यान गयो

अरुणाञ्चल प्रदेशमा विमान दुर्घटना : सवार १३ जनाकै ज्यान गयो
शनिबार, जेष्ठ ३२, २०७६

भारतीय वायु सेनाले अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त ए.एन–३२ विमानमा सवार १३ जनाकै ज्यान गएको पुष्टि गरेको छ ।

चीनसंगको सिमाना नजिक अरुणाञ्चल प्रदेशको पहाडी भेगमा उद्धारकर्मीको एउटा टोलीले दुर्घटनाग्रस्त विमानको अवशेष संकलन गरेपछि भारतीय वायु सेनाका प्रवक्ताले विमानमा सवार सबैको ज्यान गएको पुष्टि गरेका हुन् ।

भारतीय वायु सेनाको उक्त विमान गत जुन ३ देखि हराई रहेको थियो । विमानमा विङ कमाण्डर जी.एम चाल्र्स, स्क्वाडर्न लिडर एच विनोद सहित १३ जना सवार थिए । रुसमा बनेको ए.एन–३२ विमान असमको जोरहाटबाट चीनको सीमानजिकै रहेको मेचुका उपत्यकाका लागि उडेको आधा घण्टामै राडारसँग सम्पर्क विहिन भएको थियो ।

भारतीय वायु सेनाले दुई साता लामो खोजीका क्रममा उक्त क्षेत्रमा विमानको अवशेष फेला पारेको हो ।