पर्यटकको रोजाईमा तिलिचो ताल

पर्यटकको रोजाईमा तिलिचो ताल
शनिबार, जेष्ठ ३२, २०७६

शान्ता कमली –
लमजुङ-भ्रमणका लागि सिजन सकिनै लाग्दापनि मनाङको तिलिचो तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो घटेको छैन । विश्वकै उच्चस्थानमा रहेको तिलीचो ताल गन्तव्य बनाएर दैनिक दर्जनौ पर्यटक घुम्न पुग्ने गरेका छन् ।

त्यसोत, मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने हिमताल सामुन्द्रिक सतहदेखि चारहजार नौसय १९ मिटर उचाइमा छ । संसारकै सवैभन्दा बढि उचाईमा रहेको तिलिचो तालमा पुग्ने मुख्य सिजन भने सकिनै लागेको छ ।

यद्यपी तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकलाई चुम्मकले झै तानेको छ । कष्टकर र जोखिमपुर्ण यात्रापछि तिलिचो पुगेका पर्यटकहरु स्वर्गीय आनन्द मिलेको आन्तरिक पर्यटक धर्मराज तिमिल्सेना अनुभव गर्छन् ।

संसारकै सवैभन्दा उचाईमा रहेको तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ । खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग चार घण्टाको पदयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ ।

बेसक्याम्पमा एक रातको बासपछि झण्डै साँढे तीन घण्टाको उकालो हिडेर तिलिचो ताल पुगीन्छ । दुरीको हिसावले नजिक भएपनि हाई अल्टिच्युट र जोखिमपुर्ण बाटोका कारण पर्यटकहरुलाई कठिनाई हुने गरेको आन्तरिक पर्यटक महेश खनाल बताउँँछन् ।

पछिल्लो सयम तिलिचो ताल सम्म बाह्य भन्दा आन्तरिक पर्यटकको संख्या बढि हुनेगरेको छ । विश्वप्रसिद्ध अन्नपुर्ण पदमार्गमा आउने हजारौ पर्यटकहरु पछिल्लो समय तिलिचो तालतर्फ मोडिन थालेका छन् ।

कतिपय पर्यटकहरुले गन्तव्य नै तिलिचोलाई बनाउन थालेका छन् । कष्टकर यात्रा गर्दै निकै उचाईमा रहेको तालसम्म पुगेपछि साहासिक यात्रामा विजयको महसुस गर्ने गरेको विदेशी पर्यटकहरु लुसी, साईमनको अनुभव छ ।

तिलिचो ताल धार्मिक रुपले पनि महत्वपूर्ण मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती अनुसार हिन्दू धर्मावलम्बीहरु तीर्थ लागि पनि यहाँसम्म पुग्ने गर्छन् ।

मुख्यतः असोज देखि पुस महिनासम्म तिलिचो पुग्ने उचित समय मानिन्छ भने फागुन देखि बैसाखसम्म दोश्रो सिजनको रुपमा लिने गरीएको छ । अहिले ती दुबै सिजन नभएपनि दैनिक बाह्य तथा आन्तरीक पर्यटकहरु तिलिचो पुग्ने गरेका छन् ।