सेफ्टी ट्यांकी सफा गर्ने क्रममा भारतमा सात जनाको मृत्यु

सेफ्टी ट्यांकी सफा गर्ने क्रममा भारतमा सात जनाको मृत्यु
आइतवार, असार १, २०७६

एजेन्सी । भारतको गुजरात स्थित एउटा होटलको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा सात जना कामदारको मृत्यु भएको छ । ट्यांकी सफा गर्न बोलाइएका चार जना मजदुर र होटलका तीन जना कामदारको ट्यांकी भित्र निसास्सिएर ज्यान गएको हो ।

प्रहरीले ट्यांकी सफाईका लागि आवाश्यक पर्याप्त स्रोत प्रयोग नगरेका कारण लापरबाहीले ज्यान गएको जनाएको छ । ट्यांकी भित्र छिरेका एक जना मजदुर बाहिर ननिस्कएपछि बांकी ६ जना पालैपालो एकले अर्कालाई बचाउन खोज्दा भित्रै ज्यान गुमाएको अधिकारीहरुले जनाएका छन् ।

भाडोडाराका अग्नि नियन्त्रक अधिकारीले सफाइका लागि आएका चार जना बाहिर आउन नसकेपछि होटल मालिकले होटलका तीन जना कामदारलाई ट्यांकी भित्र पठाएको र सबैको ज्यान गएको दावी गरेका छन् । प्रहरीले घटना बारे अनुसन्धान अघि बढाएको छ ।

भारतमा हरेक वर्ष यस्तै घटनामा परी सयौं मजदुरको मृत्यु हुने गरेको छ ।