‘क्लीन फिड’ लागू गर्न नसक्ने केवल टेलिभिजन महासंघको भनाई

‘क्लीन फिड’ लागू गर्न नसक्ने केवल टेलिभिजन महासंघको भनाई
आइतवार, असार १, २०७६

काठमाडौँ । सरकारले लागू गर्न खोजेको विज्ञापनरहित विदेशी टेलिभिजन च्यानल (क्लीन फिड) कार्यान्वय गर्न नसक्ने भन्दै कार्यान्वयन गर्नुपरे तालचावी बुझाउने नेपाल केबल टेलिभिजन महासंघले चेतावनी दिएको छ ।

संघीय संसदमा दर्ता भएको विज्ञापन नियमन गर्न व्यवस्था गर्न बनेको विधेयकमा व्यवस्था गरिएको क्लीन फिडसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नसक्ने भन्दै महासंघसहित ४ वटा संस्थाले प्रेस विज्ञप्ती जारी गरेका हुन् ।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदी, नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली, इन्टरनेट सेवा प्रदायक एसोसिएनका अध्यक्ष भोजराज भट्टसहित डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै क्लीन फिड लागू गर्न नसक्ने जानकारी दिएका हुन् ।

विज्ञप्तीमा नेपालमा प्रशारण हुने ८५ प्रतिशत च्यानलहरु विदेशी रहेको र विदेशी च्यानलहरुको साझा संस्थाका रुपमा रहेको इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लीन फिडसहितको च्यानल दिन नसक्ने जवाफ दिएको भन्दै विदेशी च्यानल प्रशारण बन्द हुने बताइएको छ ।

केवल टेलिभिजन महासंघका कार्यकारी अधिकृत राधेश्याम लेकालीले क्लीन फिड कार्यान्वयनमा समस्या रहेको बताए । उनले भने,‘क्लीन फिड कार्यान्वय गर्न हाम्रो स्याटेलाइट छैन । भारतले जे प्रशारण गर्छ हामी समेत उनीहरुकै स्याटेलाइट प्रयोग गरेर विदेशी च्यानल प्रशारण गर्ने हो । भारतले दिने भनेको विज्ञापनसहितको च्यानल हो । उनीहरुसँग हामीले कुरा समेत गरेका छौँ तर उनीहरुले क्लीन फिड दिननसक्ने जानकारी दिएका छन् ।’

क्लीन फिड लागू भए व्यवसाय नै धरापमा पर्ने भन्दै उनले भने,‘जबर्जस्ती क्लीन फिड लागू गरिए तालाचावी सञ्चारमन्त्रीलाई बुझाउछौँ ।’ सरकारले नेपालमा प्रशारण हुने विदेशी च्यानलमा क्लीन फिड लागू गर्ने व्यवस्थासहितको विज्ञापन नियमन गर्न व्यवस्था गरेको विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । जुन विधेयक संसदको समितिमा छलफलका क्रममा रहेको छ ।