कांग्रेसको आरोप- सभामुखले सन्तुलन क्षमता नै गुमाए

कांग्रेसको आरोप- सभामुखले सन्तुलन क्षमता नै गुमाए
मङ्लबार, असार ३, २०७६

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरा ‘प्रधानमन्त्रीको लाचार छायाँ’को भुमिकामा प्रस्तुत भएको आरोप लगाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले कतिपय विेधयकविरुद्ध भएको सडक प्रदर्शनलाई ‘लोकतन्त्रविरोधी भएको टिप्पणी गर्नु दुःखद भएको बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘केहि समय यता संसद र सडकमा सरकारद्वारा प्रस्तुत गुठी र मिडिया काउन्सील लगायतका विधेयकहरु विरुद्ध व्यापक आवाज उठिरहेको सन्दर्भमा आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नु पूर्व प्रतिपक्षी नेताले ती विषयहरु उपर आम नागरिकको भावना राख्न चाहनु विल्कुलै स्वभाविक थियो । विधेयकहरुका विरुद्ध देशव्यापी रुपमा भइरहेका विरोधका स्वरहरुलाई विधिवत रुपले प्रतिपक्षी नेताले संसदमा प्रविष्ट गराए पछि प्रधानमन्त्रीले त्यस उपर आवश्यक सम्बोधन गर्ने कुरा लोकतान्त्रिक, व्यवहारिक र हार्दिक कुरा हुन्थ्यो ।’

सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई संसदको रोष्ट्रममा बोलाएर प्रतिपक्षी स्वरलाई निषेध गर्न खोजेको प्रपञ्च गर्दा संसदमा द्वन्द्व आउनु स्वभाविकै रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सरकार बहुमतको संसद प्रतिपक्षको भन्ने मान्यता सभामुखले कार्यान्वयन गर्न नसकेको भन्दै कांग्रेसले प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता नै गुमाइसकेको अयोग्यता भएको आरोप लगाएको छ ।

विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयकहरुविरुद्धको आवाज र प्रदर्शनलाई ‘लोकतन्त्र र विकास विरोधी’को संज्ञा दिनु आपत्तिजनक भएको दाबी गरेको छ । गुठी विधेयक फिर्ता लिइएपनि त्यसविरुद्धको खबरदारी जारी राख्नुपर्ने निष्कर्ष समेत कांग्रेसले निकालेको छ । विज्ञप्तीमा भनिएको छ,‘गुठी, मिडिया काउन्सील, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद्, मानव अधिकार आयोग, विश्वविद्यालय, सामुदायिक वन लगायतका प्रस्तावित सबै विधेयकहरु सारमा अधिनायकवाद उन्मुख आकांक्षालाई पृष्ठपोषण गर्ने मनस्थितिको जगमा कोरिएका छन् । कम्युनिष्ट दर्शनको शास्त्रीय हठबाट होइन नेपालको वर्तमान संविधानको लोकतान्त्रिक चेतबाट अगाडिको बाटो तय गर्न नेपाली कांग्रेस सरकारलाई सजग गराउन चाहन्छ ।’