राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्रीको लगाम

राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्रीको लगाम
बुधबार, असार ४, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् ।राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने उद्देश्यले गत १५ जेठबाट प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएको हो । यही कक्षबाट प्रधानमन्त्री ओलीले आयोजनामा भइरहेको कामको नियमित रूपमा भिडियोमार्फत अनुगमन गर्नेछन् । उनले आवश्यकताअनुसार आयोजनाप्रमुख र प्राविधिकहरूसँग सम्वाद गर्ने व्यवस्था मिलाइएको छ । असारबाट अनुगमन सुरु हुनेछ ।

सुरुमा गौतमबुद्ध विमानस्थल भैरहवा र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम अनुगमन गर्ने गरी प्रधानमन्त्री कार्यालयले आयोजना स्थलमा क्यामेरा जडान अन्तिम चरणमा पु(याएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार बाँकी ९ आयोजनाहरूमा स्थलगत रूपमै क्यामेरा जडान भइसकेपछि अनुगमन थालिनेछ ।

सरकारले यसै आर्थिक वर्ष्भित्रै माथिल्लो तामाकोसी, मेलम्ची आयोजना र गौतमबुद्ध विमानस्थलको काम सम्पन्न गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थलको काम अर्को वर्ष्भित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । ‘एक्सन रुमबाट प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो आयोजनाको काम गुणस्तरीय ढंगले सम्पन्न गर्न अनुगमन र निर्देशन दिनुहुनेछ,’ प्रवक्ता कुँवरले नयाँ पत्रिकासँग भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन् ।