प्रधानमन्त्रीलाई गुठीयारको प्रश्न : तिम्रो एनजीओ चलाउने कि हाम्रो गुठी ?

प्रधानमन्त्रीलाई गुठीयारको प्रश्न : तिम्रो एनजीओ चलाउने कि हाम्रो गुठी ?
बुधबार, असार ४, २०७६

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठी विधेयक विरुद्धको आन्दोलन भने फिर्ता भएन। गुठीयार आन्दोलनकारीले विधेयक ‘फिर्ता होइन खारेजी’ भन्दै आन्दोलन जारी राखेका छन्।

काठमाडौंमा आजपनि विशाल जनप्रदर्शन भृको छ। आन्दोलनमा आएकाहरुले प्रधानमन्त्रीका विरुद्धमा गम्भीर प्रश्न समेत उठाएका छन्।

‘नागरिकका पक्षमा उभिने कि भूमाफियाका पक्षमा, पहिला कित्ता क्लियर गर,’ गुठीयार आन्दोलनकारीले प्रधानमन्त्रीलाई गम्भीर प्रश्न सोध्दै  भनेका छन्, ‘तिम्रो एनजीओ चलाउने कि हाम्रो गुठी ?’ उपत्यकाका नेवार समुदायको नेतृत्वमा भएको आन्दोलनमा प्रधानमन्त्रीलाई भू-माफियाको संरक्षक बनेको आरोप लगाएका छन्।

‘नेवाःलाई विस्थापन भूमाफियालाई संरक्षण’ लेखेको व्यानर व्यानर बोकेका आन्दोलनकारीले ‘बालुवाटार बेचिसक्यौ,गुठी बेच्न पाइदैन’ भन्दै नारावाजी गरेका थिए।

गुठीयार आन्दोलनकारीले वर्तमान सरकारले भ्रष्टाचारमा किर्तिमानी कायम गरेको भन्दै सुनकाण्ड, वाइडवडी काण्ड, चिनी काण्ड,सहितका काण्ड पचाएको भन्दै गुठी पनि पचाइदिने भन्दै विधेयक खारेजी हुनुपर्ने माग गरे।

गुठी विधेयक फिर्ता भइसक्यो अव किन आन्दोलन भन्ने हाम्रो प्रश्नमा आन्दोलनमा आएका बसन्तपुरका विक्सन श्रेष्ठले भने ‘विगतमा चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर पनि सरकारले पछि आफ्नै इच्छा अनुसार पारित गर्‍यो, यो विधेयकमा पनि कुनैपनि बेला षडयन्त्र हुनसक्छ।’

षडयन्त्र रोक्ने कसरी त ?  विक्सनले भने, ‘विधेयक फिर्ता मात्र हुँदा फेरी लैजान र पारित गर्न सक्छ, यो विधेयक खारेज हुनुपर्यो।’

हजारौको संख्यामा निस्केका आन्दोलनकारीले माइतीघरदेखि नयाँ बनेश्वरसम्मको सडक कब्जा गरेका छन्।