नमूना कार्यालय बन्यो कलंकी मालपोत : प्रधानमन्त्री केपी शर्मा ओलीले गरे घोषणा

नमूना कार्यालय बन्यो कलंकी मालपोत : प्रधानमन्त्री केपी शर्मा ओलीले गरे घोषणा
बुधबार, असार ४, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरेका छन्। अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ ।

बुधबार प्रधानमन्त्री ओलीले सरकारले विकास र सेवाका कार्यमा प्रविधिको अधिकतम उपयोग गरी सेवाग्राहीलाई छिटोछरितो सेवा दिने नीति सरकारले लिएको बताउँदै मुलुकलाई समृद्ध बनाउन भूमिमा आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा बताए। जनताको सहजतालाई ध्यान दिन निर्देशन दिँदै उनले भने ,’प्रविधिले सेवामा सहज, सुगम, पारदर्शिता ल्याउँछ, यसले उत्पादकत्व वृद्धि गर्छ, कृषि, औद्योगिकलगायत क्षेत्रमा यसको समुचित प्रयोग गरिनुपर्छ।’

जैविक विविधताले भरिपूर्ण मुलुकमा प्रकृतिले उपलब्ध गराएका हिमाल, तालतलैया, नदी, झरनालगायत स्रोतसाधनलाई उपयोग गरी देश विकास गर्न सकिने उनको भनाई थियो । सरकारले आगामी वर्ष सन् २०२० मा २० लाख पर्यटक पुर्‍यान भ्रमण वर्षसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको बताउँदै आफूले फ्रान्स भ्रमणका समयमा यसबारे प्रचार गरेको जानकारी दिए।

कार्यक्रममा भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सरकारले जनताको सम्पत्तिलाई रक्षा गर्ने उद्देश्यले भूमि प्रशासनमा जग्गाका स्रेस्तालाई डिजिटलाइज्ड गरेको बताउँदै उक्त प्रणालीलाई आगामी दुई वर्षभित्र स्थानीय तहमा हस्तान्तरण गरिने जानकारी दिइन्। उनले जनताका काम परिरहने मन्त्रालय मातहतका सबै कार्यालयमा पारदर्शी रुपमा चाँडो काम हुने खालको परिवर्तन सेवाग्राहीले चाहेको बताइन्।

मन्त्रालयका सचिव गोपिनाथ मैनालीले मालपोत कार्यालयमा सेवाग्राहीलाई सबै सुविधा एकद्वार प्रणाली अन्तर्गत उपलब्ध गराउन बुधबारदेखि नमूना कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए। भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि भुर्तेलले अनलाइन सेवा प्रारम्भ भएपछि सेवाग्राही लाभान्वित भएको बताउँदै अहिले राजश्व सङ्कलनमा देखिएको वृद्धिले चालु आवमा ४० अर्ब राजश्वको प्रक्षेपण गरिएको जानकारी दिए।