लागू औषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी अभियान सुरु

लागू औषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी अभियान सुरु
बिहिबार, असार ५, २०७६

काठमाडाै । सरकारले ‘लागू औषध दूरुपयोग एवं ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान‘ सुरु गरेको छ ।

लागू औषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर आज(बिहिवार) गृह मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गृह सचिव प्रेमकुमार राईले लागू औषध दुरुपयोग एवं ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यका साथ देशभर विभिन्न २६ वटा कार्यक्रम तय गरी अभियानलाई अघि बढाइएको जानकारी दिए ।

अभियान अन्तरगत देशभर लागू औषध रोकथाम नीति र समस्या समाधानका लागि आवश्यक नीतिगत छलफल, गाँजा तथा अफिम खेतीको फडानीलगायतका कार्यक्रम पनि समावेश गरिएको छ । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागू औषधरहित स्वास्थ जीवन’ भन्ने मूल नाराका साथ तय गरिएको सप्ताहव्यापी अभियान असार ११ गतेसम्म चल्नेछ । नेपालमा वर्षेनी ११ दशमलव ३६ प्रतिशतले लागू औषध प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी कूल अपराध मध्ये ७ प्रतिशत अपराध लागू औषधसँग सम्बन्धित रहेका छन । युवाहरु कूलतमा फँस्ने क्रम बढेपछि सरकारले त्यसलाई नियन्त्रणमा लिन जनचेतनामूलक अभियान संचालन गर्नु परेको पनि गृह सचिव राईले बताए ।