बाँकेमा लागुऔषध कारोवारी बढ्दै, दुई बर्षमा २ सय २१ मुद्दा दर्ता, ३ सय ३८ कारोवारी पक्राउ

हिजो(बुधवार) मात्र साढे १८ किलो अफिम सहित ४ जना पक्राउ

बाँकेमा लागुऔषध कारोवारी बढ्दै, दुई बर्षमा २ सय २१ मुद्दा दर्ता, ३ सय ३८ कारोवारी पक्राउ
बिहिबार, असार ५, २०७६

लक्ष्मण ढुंगाना,बाँके । बाँकेमा लागु औषध कारोवारी धमाधम पक्राउ पर्न थालेका छन ।

प्रहरीले लागुऔषध विरुद्ध नियमित चेकजाँजमा कडाई गरेपछि दैनिक जसो लागु औषध कारोवारी पक्राउ पर्ने गरेका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीले आ.व. २०७५÷०७६ को हालसम्म लागुऔषध कारोवारसंग सम्वन्धीत २ सय २१ मुद्दा दर्ता गरेको छ । २०७४ मा १ सय ३७ र २०७५ मा १ सय ५४ गरि कुल २ सय २१ मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । जसमा ३ सय ३८ जना कारोवारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

जसमध्य पूरुष ३ सय २१ र महिला ९ जना रहेका छन् । पक्राउ पर्नेमा १४ भारतिय नागरिक सहित १ जना बाङलादेशी नागरिक समेत रहेको प्रहरीले जनाएको छ ।

यसैविच, प्रहरीले बुधवार विहान नेपालगञ्ज उपमहानगरपालिका २२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित ४ जना कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ । पुरैनीस्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोबारमा संलग्नलाई नियन्त्रणमा लिएको भन्दै उनीहरुलाई बुधवार बेलुका ५ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

अफिम सहित पक्राउ पर्नेहरुमा नलगाड नगरपालिका वडा नं. ९ जाजरकोटका ५० वर्षिय पृथ्वी बहादुर वि.क., सोही ठाँउ बस्ने २५ वर्षका बिरबहादुर वि.क., राजेन्द्र वि.क. र पूर्वि रुकुमस्थित उत्तरगंगा नगरपालिका वडा नं. ९ मैकोटकी ४९ वर्षिया शर्मिला मगर रहेका छन । प्रहरीले उनीहरु सवार भे १ ह १३९५ नंम्बरको अटो र त्यसका चालक सुर्खेत पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ३९ वर्षीय अम्मरबहादुर दराईलाई समेत नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।पक्राउ परेका चारजनालाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा छ (३) बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने प्रावधान छ ।

यसैबीच, प्रहरीले गत २३ गते २३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बर्दिया गेरुवा गाउपालिका–२ का २६ वर्षिय स्वरुप खत्रीलाई समेत नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।खत्रीले मलद्वारमा लुकाएर सो ब्राउन सुगर भारतीय बजार रुपैडिहाबाट नेपाल ल्याउदै थिए ।

उनलाई अदालतबाट लागुऔषध मुद्दामा म्याद थपगरी अनुसंधान सुरु गरेको प्रहरीेले जनाएको छ ।