गुठी पछि अरु विधेयक फिर्ता गर्न सरकारमाथी दवाव : संसदमै कांग्रेसले गर्‍यो चार विधेयक फिर्ताको माग

गुठी पछि अरु विधेयक फिर्ता गर्न सरकारमाथी दवाव : संसदमै कांग्रेसले गर्‍यो चार विधेयक फिर्ताको माग
बिहिबार, असार ५, २०७६

काठमाडौं । हरेकजसो विधेयकमा विवादित बनेको सरकारले दवावमा गुठी विधेयक फिर्ता लियो। तर,सरकारले गुठी विधेयक फिर्ता लिएसँगै त्यसलाई नै आधार बनाएर थप ४ विधेयक फिर्ताका लागि दवाव सुरु भएको छ।

अन्य चार विधेयक गुठी भन्दा अगाडी नै तिब्र विवादित बनेका थिए। अहिले गुठी विधेयक जस्तै ती विधेयक पनि फिर्ता लिन दवाव बढेको हो। प्रतिनिधिसभाको बिहिबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फबाट यस्तो दवाव सुरु भएको छ।

‘सरकारले गुठी विधेयक फिर्ता गरेर राम्रो काम गरेको छ, यसको म स्वागत गर्छु,’ कांग्रेस सांसद भरतकुमार शाहले बिहिबारको संसदमा भने, ‘गुठी विधेयक फिर्ता लिएसँगै अव संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि सरकारले फिर्ता लिनुपर्छ।’

उनले मिडियाको स्वतन्त्रता खोस्नेगरी आएको मिडिया काउन्सिल विधेयकले लोकतन्त्रको पिलर हल्याउन खोजेको भन्दै त्यस्तो विधेयक फिर्ता लिएर सरकारले आम नागरिकमा उ लोकतन्त्र मास्न लागेको छैन भनेर विश्वास जित्न आवश्यक रहेको बताए। त्यस्तै सूचना प्रविधि मानवअधिकार सम्बन्धी र सुरक्षा परिषद विधेयक पनि फिर्ता लिन आवश्यक भएको उनको भनाई थियो।

कांगेरसकै सांसद महेन्द्रकुमारी लिम्बूले सरकारले नेपालको मौलिक धर्म सांस्कृति धरापमा पार्न खोजेको आरोप लगाइन् । ‘गुठीलगायत मौलिक संस्कृति धरापमा राख्न खोजिएको संसद्मा दर्ता भएका विधेयकले प्रस्ट पार्छ,’ सांसद लिम्बुले भनिन्, ‘संस्कृतिविरुद्ध लाग्नेलाई नागरिकले छोड्दैनन् त्यसैले सरकार सचेत भएर काम गरोस।’

काठमाडौं–१० बाट निर्वाचित सांसद राजेन्द्रकुमार केसीले भने मंगलबार पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।

‘गुठी विधेयकका सन्दर्भमा मङ्गलबारको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले जुन शब्दको प्रयोग गर्नुभयो त्यसप्रति आपत्ति छ,’ केसीले भने, ‘लोकतन्त्रकझ राकाट्ने कैचि भन्नु प्रधानमन्त्रीको गलत अभिव्यक्ति हो।’