‘बिनाअनुमति गरिने कृयाकलाप स्थानीय तहमा प्रतिवन्ध’

‘बिनाअनुमति गरिने कृयाकलाप स्थानीय तहमा प्रतिवन्ध’
बिहिबार, असार ५, २०७६

काठमाडौ । सरकारले विनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन नगर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम संचालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिए । सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम संचालन गर्न सक्ने उनको भनाई छ ।

आज(बिहिवार) काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्न लागिएको पनि बताए ।

मन्त्री पण्डितले जनताको आकांक्षालाई सम्बोधन गर्न सरकारले स्थानीय तहमा अभिमुखिकरण कार्यक्रमलाई तीव्रता दिईरहेको पनि बताए । कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले स्थानीय तहको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम विस्तार गर्न आवश्यक रणनीति तय गर्न सम्मेलन आयोजना गरिएको स्पष्ट पारे ।

स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरुका विषयमा विस्तृत छलफल गरिएको थियो ।