बेसीशहरमा आगलागी : घर जलेर १४ लाखको क्षति

बेसीशहरमा आगलागी : घर जलेर १४ लाखको क्षति
बिहिबार, असार ५, २०७६

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका ८ शेराकुनामा एउटा घरमा आगलागी भएको छ । आगलागीबाट बेसीशहर नगरपालिका ८ का नारायणबहादुर सुर्यालको जस्ताले छाएको दुई तले कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागी हुँदा १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो साँढे १ बजे आगलागी भएको खबर पाउने बित्तिकै १ बजेर ३८ मिनेट जाँदा प्रहरी आगलागी भएको स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । प्रहरी र स्थानीय तत्कालै पुगेपनी दमकल भने घटना भएको आधा घण्टापछि मात्र घटनास्थलमा पुगेको स्थानीय भरतबहादुर पौडेलले बताए ।

उनले भने सडक साघुरो भएका कारण दमकल समयमै घटनास्थलमा पुगेन । आगलागीबाट घरको माथिल्लो तलाको चार वटा कोठामा पूर्ण क्षति भएको छ ।

आगलागीबाट झण्डै १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी र स्थानीयको मद्दतले दिउँसो २ बजे आगो नियन्त्रणमा लिइएको थियो । ‘आगलागीबाट माथिल्लो तलाका सबै कोठामा क्षति पुगेको छ । लत्ताकपडाका साथै फर्निचरका सामानमा समेत क्षति पुगेको छ,’ प्रहरी निरीक्षक पाण्डेले भने ।

प्रहरीका अनुसार माथिल्लो तलामा भाडामा बस्दै आएका ३ परिवारका ९ लाख ५० हजार बढी सामान जलेर नष्ट भएको छ । उक्त परिवारका सदस्यलाई लमजुङ उद्योग वाणिज्य संघले राहतका साथै बस्ने व्यवस्था समेत मिलाएको छ । घरको माथिल्लो तलाको कोठामा बलिरहेको ग्याँस चुलोबाट आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।