ट्रकमा लिफ्ट दिएर महिलालाई जबरजस्ती करणी गर्ने दुई जना प्रहरी फन्दामा

ट्रकमा लिफ्ट दिएर महिलालाई जबरजस्ती करणी गर्ने दुई जना प्रहरी फन्दामा
शुक्रबार, असार १३, २०७६

तनहुँ । ट्रक भित्र महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। महिलालाई लिफ्ट दिई जबरजस्ती करणी गरेको आरोपमा मोरङ उर्लाबारी नगरपालिका–३ सुर्यचोकका ३१ वर्षीय चालक विमल ढकाल र ३२ वर्षीय सहचालक गोपाल भण्डारीलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो।

ना १ क ४३४९ नम्बरको ट्रकका चालक र सहचालकले गत बुधबार नवलपरासीबाट दमौलीसम्म आउँने क्रममा नवलपुरस्थित डण्डाबाट एक जना महिलालाई लिफ्ट दिएर ल्याएका थिए। लिफ्ट दिएर ल्याएकी महिलालाई विहीबार बिहान १ः३० बजेको समयमा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्ग सडक किनारामा ट्रक रोकी जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

महिलालाई चालक र सह–चालकले जबरजस्ती करणी गरेको भन्ने तालुक गण्डकी प्रदेश प्रहरी कार्यालयबाट सुचना प्राप्तभए पश्चात तनहुँ प्रहरीले ट्रकको खोजतलास गरेको थियो । खोजतलासका क्रममा उक्त ट्रक व्यास–३ वीपी वनपाटीका चौरमा रोकी ट्रकबाट रड (छड) अनलोड गर्दै गरेको अबस्थामा भेटिएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा चालक र सहचालकलाई नियन्त्रणमा लिई जरुरी पक्राउ पुर्जी दिई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९(१) बमोजिम पक्राउ गरी पीडित र पिडकको स्वास्थ्य परीक्षण गराई पीडितबाट जाहेरी लिई जबरजस्ती करणी मुद्दामा शुक्रबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाईको प्रहरी नायव उपरीक्षक लामिछानेले बताए।