सर्लाहीमा प्रहरीकाे गोली लागेर एकजनाको मृत्यु

सर्लाहीमा प्रहरीकाे गोली लागेर एकजनाको मृत्यु
आइतवार, असार १५, २०७६

सर्लाही । स्थानीयले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर सर्लाहीमा १ जनाको मृत्यु भएको छ ।

खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको थिए । प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन थालेपछि स्थानीय ढुङ्गा–मुढा प्रहारमा उत्रिएका थिए ।

राजमार्गको अवरोध हटाउँदा प्रहरीको गोली लागेर सर्लाहीको ईश्वरपुर–१३ का २९ वर्षीय केवल महतोको मृत्यु भएको जनाइएको छ ।

झडपलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाइ फायर गर्दा १ जनाको मृत्यु भएको हो । झडपमा अन्य ४ जना स्थानीय घाइते भएका छन् । घाइते भएका ४ जनालाई पनि गोली लागेको स्थानीयको भनाइ छ ।

स्थानीय बाँके खोलामा गिट्टी–बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर स्थानीय लाले रायका छोरा अमित रायको मृत्यु भएको थियो ।