एसिसी अण्डर नाईन्टीन क्रिकेट : नेपाल फाइनलमा प्रबेश

एसिसी अण्डर नाईन्टीन क्रिकेट : नेपाल फाइनलमा प्रबेश
सोमवार, असार २३, २०७६

काठमाडौ । नेपाल एसिसी अण्डर नाईन्टीन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज(सोमवार) भएको सेमिफाइनलमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा ग¥यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ रन र भीम सार्कीले नटआउट ३३ रन जोडे । रोहितले २९ बलमा २ चौका र १ छक्का हिर्काए । भीमले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

ओपनर पवन सर्राफ १८ रनमा आउट भएका थिए । सर्राफले १६ बलमा १ चौका र २ छक्का हिर्काए । अघिल्लो खेलमा शतक हिर्काएका रित गौतम ३ रन र खडकबाहादुर बोहोरा शुन्य मा आउट भए । बलिङमा मलेसियाका मोहमद खइरले २ विकेट र मोहमद अमिरले १ विकेट हात पारे ।

त्यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४० दशमलव ५ ओभरमा ८७ रनमा अलआउट भएको थियो । मलेसियाका लागि मोहमद अमिरले सबैभन्दा बढी २४ रन जोडे । उनले ३२ बलमा ३ चौका प्रहार गरे । बलिङमा नेपालका सागर ढकालले ३ विकेट लिए । सागरले १० ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए । कुशल मल्लले २ विकेट हात पारे ।

कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १÷१ विकेट लिए । अब नेपालले उपाधिका लागि मंगलबार हङकङ र सिंगापुरबीचको विजेता टोलीसंग खेल्नेछ ।