भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा

भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा
बुधबार, असार २५, २०७६

काठमाडौं – न्यूजिल्यान्ड आईसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । विश्वकपको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा भएको खेलमका न्यूजिल्यान्डले दिएको २सय४० रनको लक्ष्य पछ्याएको भारत २सय२१ रनमा समेटिएपछि न्यूजिल्यान्ड फाइनल पुगेको हो ।

भारतविरुद्ध न्यूजिल्यान्डका बलरहरुले कसिलो बलिङ गर्दा तुलनात्मक रुपमा बलियो मानिएको भारत पराजित भयो । मंगलबार भएको खेल वर्षाले प्रभावित भएपछि बुधबार खेलाइएको थियो । भारतीय अग्रपङ्तीका ब्याट्सम्यान चल्न नसकेपछि न्युजिल्यान्डले भारमाथि सहज जीत हात पारेको हो ।

भारतका लागि २सय२१ रन बनाउने क्रममा रविन्द्र जडेजाले ७७ रन बनाए भने महेन्द्रसिंह धोनी ५० रनमा आउट हुँदा रिसभ पन्त र हार्दीक पाण्ड्याले समान ३२ रन लिएका थिए भने ओपनिङ ब्याट्सम्यान केएल राहुल, रोहित शर्मा र विराट कोहली समान एक–एक रन बनाएर आउट भएपछि भारत दबाबमा थियो । न्यूजिल्यान्डका बलरले भारतलाई खेल भरी दबाबमा राख्दै आफुलाई हावी गरेको थियो ।

भारतविरुद्ध न्यूजिल्यान्डका माट हेनरीले ३ विकेट लिए भने मिचेल सेन्टनेर र ट्रेन्ट बोल्टले समान २–२ विकेट लिँदा लोकि फर्गुसन र जिम्मी निसामले समान एक–एक विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डका लागि २सय३९ रन बनाउने रस टेलरले ७४ रन प्रहार गरेका थिए भने केन विलियमसनले ६७ रन बनाएका थिए । न्यूजिल्यान्डविरुद्ध भारतका भुवनेश्वर कुमारले ३ विकेट लिँदा जस्प्रीत बुमराह, हार्दीक पाण्ड्या, रविन्द्र जडेजा र युज्भेन्द्र चहालले समान एक–एक विकेट लिएका थिए ।

फाइनल पुगेको न्युजिल्यान्डले बिहीबार हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल जुलाई १४ मा हुनेछ ।