हामी १३ औं वर्षमा…

हामी १३ औं वर्षमा…
शुक्रबार, असार २७, २०७६

काठमाडौं– आवाजविहीनको आवाजमार्फत सरकारको खबरदारी गर्ने लक्ष्यका साथ देशको तेस्रो आँखाका रुपमा स्थापना भएको सगरमाथा टेलिभिजन आजदेखि १३ औं वर्षमा प्रवेश गरेको छ ।

मुलुकमा राजनीतिक संक्रमण अन्त्य भइ लोकतान्त्रिक गणतन्त्रमा जाने तयारी भइरहेको अवस्थामा स्थापना भएको सगरमाथा टेलिभिजन प्राप्त उपलब्धिको रक्षाका लागि जिम्मेवार भएर खबरदारी गरिरहेको छ । आम नागरिकका दबाइएका आवाजलाई पनि उजागर गरेर सरकारलाई झकझक्याइरहेको छ ।

त्यसबेला लोकतान्त्रिक गणतन्त्रका लागि तत्कालीन ७ राजनीतिक दल र नेकपा माओवादीको संयुक्त रुपमा चलेको आन्दोलनले ०६२÷०६३ सालको दोस्रो जनआन्दोलनको रुप लिएको थियो । अधिकार प्राप्तिको आन्दोलनले निकास पाउदै थियो । अर्थात्, नेपालमा २ सय ४० वर्षे राजतन्त्रको विरुद्धमा भइरहेको आन्दोलनसँगै जनताका प्रतिनिधि आफैले नेपालको संविधान बनाउने बाटो खुलेको बेला थियो ।

राजनीतिक संक्रमण अन्त्य भइ लोकतान्त्रिक गणतन्त्रमा जाने तयारी भईरहेको बेला नेपालमा समाचामूलक टेलिभिजन तपाईको तेस्रो आँखाको नारासहित नेपाली सञ्चार जगतमा आफ्नो विशिष्ट स्थान बनाउने उद्धेश्यसहित उदय भएको होण् ।

जतिबेला सगरमाथा टेलिभिजन नयाँ जोश र उद्देश्यका साथ उदायो, त्यतिवेला नेपालमा एउटा पनि २४ सैं घण्टा समाचार प्रशारण गर्ने च्यानल थिएनन । एउटा विशिष्ट लक्ष्य, प्रष्ट विचार र उदेश्यसहित नेपाली सञ्चारजगतमा सगरमाथा टेलिभिजन उदायो र आफनो विशिष्ट छाप र प्रभाव छाडन सफल भयो ।

सगरमाथा टेलिभिजनले स्थापनाको १२ वर्ष पूरा गरेको छ । १२ वर्षे यात्राका क्रममा टेलिभिजनले अनेकन उतार चढावको सामना समेत गरेको छ । हुनत एउटा व्यक्तिको लागि १२ बर्ष खास ठूलो समय होइन र सञ्चार संस्थाको लागि त झन हुँदै होइन ।

तैपनि सगरमाथा टेलिभिजनले राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनाको बेलाको चरम राजनीतिक संकटको सामना गर्नुपर्दाको बेला होस् वा संविधान निर्माणको प्रारम्भिक दिनको रस्साकस्सी वा अधिकार प्राप्तिको लागि भएका आन्दोलन नै किन नहोस्, हरेक मोड र घुम्तीमा सगरमाथा टेलिभिजन अविचलित नभई समाचार प्रवाहमा निरन्तर लागिरह्यो ।

नेपालमा २०६२÷०६३ सालको दोस्रो जनआन्दोलन सफल भएर नेपालमा कायम रहेको २ शतकभन्दा बढी लामो राजतन्त्रको अवसान भयो । त्यससँगै तत्कालीन व्यवस्था समेत ढल्यो । परिणामस्वरुप संविधान बनाउनका लागि संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भयो । जुन निर्वाचन मार्फत् संविधान निर्माणका लागि संविधानसभाको समेत गठन भएको थियो । संविधानसभाको चुनावका बेला मात्रै होइन, संविधान निर्माणका लागि समेत सगरमाथा टेलिभिजनले संविधानसभासँग सम्बन्धित समाचारहरुको महत्व पहिचान गरी कार्यक्रम ६ सय १ सञ्चालन गरेको थियो ।

त्यसबाहेक संविधानसभा बैठकको हरेक दिनको समाचार संकलनका लागि सगरमाथा टेलिभिजन अहोरात्र खटिरह्यो, जुन विषयलाई टेलिभिजनले आफ्नो जिम्मेवारी समेत सम्झियो । तर विडम्वना हाम्रो मात्रै होइन, आमनागरिकको अपेक्षाविपरित नेपालको राजनीतिक इतिहासमा पहिलोपटक गठन भएको संविधानसभाले संविधान जारी गर्न सकेन । फलतः पटक–पटक मिति थप्दै ४ वर्षसम्म कायम रहेको संविधानसभा नै विगठन हुनपुग्यो ।

तर, जनताको चाहनाअनुसार संविधानसभाबाट संविधान बनाउने संकल्पमा हामी हरेक दिन आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्ने क्रममा कहि चुकेनौ, कहिं झुकेनौं । तत्कालीन ४ राजनीतिक दलको सहमतिमा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरराजनीतिक व्यक्तिहरु सम्मिलित चुनावी सरकार गठन भयो । त्यस सरकारले दोस्रोपटक हुने संविधानसभाको चुनावको मिति घोषणा ग¥यो ।

वि.सं.२०७० साल मंसीरमा भएको दोस्रो संविधानसभाको चुनावलाई सफल बनाउन हाम्रो सबै तागत चुनावको वातावरण बनाउने मात्रै होइन, चुनावमा जनतालाई मतदान गर्ने सहज वातावरण निर्माणका लागि सगरमाथा टेलिभिजनले आफ्नो स्थानबाट जे गर्नुपर्ने थियो त्यो ग¥यो ।

चुनाव भएको २ वर्षपछि २०७२ साल असोज ३ गते नेपालको इतिहासमा पहिलोपटक जनताका प्रतिनिधिले तयार पारेको संविधान जारी भयो । संविधानसभाका हरेक महत्वपूर्ण बैठक र बहसको प्रत्यक्ष प्रशारणमात्रै होइन, हाम्रो समाचारको पहिलो रोजाईमा जनताको चाहना अनुसार संविधानसभाले गर्ने र गरिरहेका काम बन्यो । यतिसम्म की मध्यरातसम्म पनि हामी जाग्राम बस्यौँ, समाचार संकलनमा अहोरात्र खटियौं ।

संविधान जारी हुने दिन अर्थात् २०७२ साल असोज ३ गते अघि र पछि समेत हामी देशका सबै भागको जनताको खवर हाम्रो प्राथमिकतामा प¥यो । हिमाल, पहाड र तराइका सबै क्षेत्रको समाचार विनाकुनै भेदभाव संकलन ग¥यौं र प्रसाारण पनि ।

संविधानसभाले संविधान जारी गर्दा मधेशका विभिन्न जिल्लाहरुमा विरोध शुरु भयो । जुन विरोध यतिसम्म पुग्यो कि संविधानसभाले जारी गरेको संविधान नै संसोधन गर्नुपर्ने भन्दै आवाज उठिरहेका बेला हामीले समेत तराई मधेशका जनताको आवाजका विषयमा समाचार लेखिरह्यौँ ।

काठमाडौँबाट सञ्चालित राष्ट्रिय स्तरका टेलिभिजन च्यानलहरु मधेशमा बन्द गर्ने अभियान तत्कालीन राजनीतिक दलले आन्दोलनकै रुपमा शुरु गरेपनि सगरमाथा टेलिभिजन भने निर्वाध रुपमा प्रशारण भइरह्यो । जसको कारण समाचारमा निस्पक्षता हो भन्ने हाम्रो ठम्याइ छ ।

आन्दोलन उग्र बन्दै जाँदा नाकाहरु बन्द गरेर तत्कालीन मधेशी दलले शुरु गरेको आन्दोलनले नेपाली अर्थतन्त्र थिलथिलो बनेको समाचार समेत हामीले प्राथमिकतामा पा¥यौँ ।

राजनीतिक आन्दोलन चुलीमा रहेको बेलामा २०७२ साल बैशाख १२ गते नेपालमा गएको महाविनाशकारी भुकम्पले देशका ३१ जिल्लामा ठूलो विपत्ति ल्यायो । नाकाबन्दीले थिलथिलो भएको अर्थतन्त्र भुकम्पको कारण झन रसातलमा पुग्यो ।

भूकम्पले कतिसम्म असर पा¥यो भने अहिले पनि यो कथा बनेर हरेक नागरिक संवाद हुने गर्दछ । यस्तो विपत्तिको बेलामा सारा दुःख र पीर एकातिर पोको पारेर हामी कर्मथलोमा लम्किरहयौं, मातृभुमिको सेवाको लागि ।

त्यतिबेला सूचना लिन र तत्काल प्रसारण गर्नु नै ठूलो कुरा थियो । यसले राज्यलाई पक्कै ठूलो सहयोग पुगेको हुनुपर्छ भन्ने हाम्रो ठम्याई छ ।

त्यसबाहेक वर्षाको समयमा हुने बाढिपहिरो, हावाहुरी लगायतका प्राकृतिक विपत्तिको खबर पनि हाम्रो पहिलो रोजाइमा परयो । त्यसलाई प्रशारण गरेर सरकारलाई जिम्मेवार बनाउने प्रयत्न गरिह्यौँ ।

संविधानसभाले संविधान जारी गरेपछि भएको संघीय संसदको मात्रै होइन, प्रदेश र स्थानीय तहको चुनावमा समेत हामीले उल्लेखनीय भूमिका खेलेका छौं । चुनावमा देशैभर विध्वंसात्मक गतिबिधि भएपनि जनतालाई चुनावप्रति आकर्षण गरी संविधानले परिकल्पना गरेको गणतन्त्र र संघीयता कार्यान्वयनका लागि चुनाव हुनुपर्छ र यसमा जनताले भाग लिनुपर्छ भन्ने हाम्रो मुल ध्येय थियो ।

यसमा डटिरहयौं । त्यसको समेत परिणाम चुनाव सम्पन्न भयो । सरकार गठन भयो । अहिले दुईतिहाई बहुमतप्राप्त सरकार देशमा छ । तर पनि आम नागरिकको चाहना अनुसार सरकारले आफ्नो काम गर्न नसकेको अबस्थामा सरकारलाई जनताप्रति जिम्मेवार बनाउन हाम्रो भुमिका हिजोको दिनमा भन्दा बढि प्रभावकारी बनाउने ध्याउन्नमा लागेका छौं ।

अबको पत्रकारिता भनेको तथ्यमा आधारित हुनुपर्छ । यसको लागि हामी तयार भएर बसेका छौं । हामी जिम्मेवारी र दायित्व सहितको पत्रकारीता गरिरहेका छौं । गरिरहनेछौं…