ग्रान्डी अस्पतालको अर्को काण्डः शिशुको स्वास्थ्यमाथि खेलवाड गर्दै लाखौं लुट

title
आइतवार, असार २९, २०७६

काठमाडौं । एकपछि अर्को काण्ड दोहोरिरहने ग्रान्डी इन्टरनेशनल अस्पतालमा पुनः अर्को काण्ड दोहोरिएको छ। अस्पतालले गर्भदेखि नै निगरानी गर्दै आएको शिशुको उपचारमा चरम लापरवाही गरी लाखौं रुपैयाँ लुटेको भन्दै अभिभावकले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएपछि अस्पतालको ठगी रहस्य खुलेको हो ।

अस्पतालले ९ महिनाको अवधिमा ५ पटक बालकको टाउकाको शल्यक्रिया गरी ३५ लाख भन्दा बढी रकम लिएपनि बच्चाको अवस्था भने झन्–झन् चिन्ताजनक रहेको अभिभावकले बताएका छन् ।

यस्तो छ घटना

२०७५ असार १२ गते ग्राण्डी अस्पतालमा सञ्जीव न्यौपाने र एकता घिमिरेको पहिलो सन्तान जन्मियो । सामान्यतया ४० हप्तामा परिपक्व हुने भएपनि आमालाई थाइराइड र कलेजोमा बोसो जम्ने समस्या भएकाले डाक्टरकै सल्लाहमा शल्यक्रिया गरेर शिशुलाई जन्म दिए । शुरुमै शिशुलाई निमोनियालगायत रोग देखिएपछि उपचारका लागि अस्पतालमै राखियो र तीन महिनाको अवधिमा ४ पटक टाउकोको शल्यक्रिया गरियो ।

चार पटक शल्यक्रिया भएका कारण ९ महिनाको अवधिसम्म हरेक महिना अस्पतालमा फलोअपका लागि लगियो । ९ महिनापछि पुनः ५ औं पटक टाउकोको शल्यक्रिया गरियो । बच्चाका बुबा सञ्जीवका अनुसार, हरेक पटक शिशुको अवस्थामा सुधार आएको भनिए पनि अवस्था भने झन् झन् जटिल बन्दै गएको रहेछ । अहिले बच्चा जीवनमरणको दोसाँधमा छन् । उनी भन्छन्–‘बच्चाको स्वास्थ्यमाथि अस्पतालले खेलवाड गरि आम्दानीको स्रोत बनायो ।’

अस्पतालले निरन्तर चेकअप र उपचार गर्दै आएपनि बच्चा जन्मेको १० महिना पछि बल्ल ब्रेन ड्यामेज भएको बताएको थियो । ५ पटक टाउकोको शल्यक्रिया गर्दासमेत केही जानकारी नदिएर अस्तालले निरन्तर ठगी गरिरहेको बच्चाका बुबा सञ्जीवको भनाई छ ।

यो विषयमा अस्पताल प्रशासनसँग कुरा गर्दा उल्टो अदालत जानु भन्दै धम्क्याउने गरेको सञ्जीवले गुनासो गरे। अहिले उनले अस्तापलको लापरवाहीको फेहरिस्ति लिएर नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन् । मेडिकल काउन्सिलले सत्यतथ्य बुझेर कारवाही गर्ने प्रतिबद्धता जनाएपछि दोषीलाई कारबाही हुने उनको आशा छ । उनि भन्छन्-‘मलाई त यो पीडा आयो नै तर मैले उचित न्याय पाउनुपर्छ अनि म जस्ता अरु अभिभावकलाई यस्तो पीडा नदोहोरियोस भनेर नै म कानूनी लडाईमा लागेको छु।’

न्यौपानेले दिएको उजुुरी पढ्नुहोस्

यो विषयमा अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलका सदस्य डा. ढुण्डीराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ । समितिले छानबिनको काम पनि शुरु गरेको छ। आशा गरौं सत्यतथ्य बाहिर आउने छ । अनि दोषीलाई कारवाही र पीडितलाई उचित न्याय मिल्नेछ ।