मापदण्ड मिच्दाको परिणामः धादिङमा ह्वासिन सिमेन्ट उद्योगमा खोलो पस्दा संरचना ध्वस्त

मापदण्ड मिच्दाको परिणामः धादिङमा ह्वासिन सिमेन्ट उद्योगमा खोलो पस्दा संरचना ध्वस्त
सोमवार, असार ३०, २०७६

काठमाडाैँ । चिनियाँ कम्पनि र सुरज बैद्य सञ्चालक रहेको बैद्य अर्गनाइजेशनको साझेदारीमा धादिङ्मा मापदण्ड विपरित निर्माणाधिन ह्वासिन सिमेन्ट उद्योग भित्र खोलो पसेको छ । सयौं रोपनी खोलाको जग्गा मिचेर निर्माण गरिरहेको उद्योगमा खोलो पस्दा भौतिक संरचनाहरु ध्वस्त बनेका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण आएको बाढीले बगाएको स्थानियबासीले बताएका छन् । रातिको समयमा एकाएक बाढी आउँदा पाँच जना मजदूर समेत बाढीमा फसेका थिए । यद्यपी दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् । ह्वासिन सिमेन्ट उद्योगले सयौं रोपनी खोलाको जग्गा मिचेर आफूखुसी काम गरिरहेको प्रसङ्ग सगरमाथा टेलिभिजनले यस अघि नै उजागर गरेको थियो ।

के छ त ह्वासिन सिमेन्ट उद्योगको वास्तविकता ?

१५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले बैद्य अर्गनाइजेशन सँगको साझेदारीमा उद्योग निर्माण शुरु गरेको चार महिना वितेको छ । नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो । सिमेन्ट उद्योगले मापदण्ड विपरित, खोलाको धार नै परिवर्तन गरेर काम गरिरहेको थियो । हामीलाई प्राप्त प्रमाण अनुसार, उद्योगले मलेखु खोलाको १ सय २१ रोपनी जग्गा कब्जा गरिसकेको छ भने अरु सयौं रोपनी खोलाको जग्गामा आफूखुसी काम गरिरहेको छ । यो विषयमा उद्योग विभागले पनि अनुसन्धान गरिरहेको छ । विभागका सूचना अधिकारी जीवन सेढाईं अनुसन्धान भइरहेको र दोषी भेटिए कारवाही गर्ने बताउँछन् ।

स्रोतका अनुसार, विरोधमा उत्रनेलाई ह्वासिन सिमेन्टले दबाब र आर्थिक प्रभावमा पारेर विरोध गर्नेहरुलाई पाखा लगाउने गरेकोछ । यतिमात्र होइन, ह्वासिन सिमेन्ट र नेपाली साझेदार सुरज बैद्यले केही जनप्रतिनिधि र पहुँचवाला स्थानीयलाई हातमा लिएर सरकारी जग्गा आफूअनुकुल प्रयोग गरिरहेका छन् । यो विषय संसदको विकास तथा प्रविधि समितिमा समेत अनुसन्धान गरेको थियो । तर दबार प्रभावकै कारण अनुसन्धान टुंगोमा पुग्न भने सकेको छैन । यद्यपी समितिका समापति कल्याणी खड्का भने दोषी भेटिए कारवाही हुने दाबी गर्छिन् ।

ह्वासिन सिमेन्टका नेपाली साझेदार, सुरज बैद्यले भने यो विषयमा कुनैपनि प्रतिक्रिया दिन मानेका छैनन् । नेपाली भूमीमा आएर सयौं रोपनी जग्गा कब्जा गरि मापदण्ड विपरित आफूखुसी काम गर्ने उद्योगलाई कहिले हुन्छ कारवाही ? आम नागरिकको चासो र प्रश्न हो यो ।