छलफल नगरि संसद स्थगित गरेको भन्दै कांग्रेस सभापति देउवाको विरोध

title
सोमवार, असार ३०, २०७६

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले आज(सोमवार) सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका छन् । उनले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढ्नुपर्नेमा प्रतिनिधिसभा बैठक नै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप पनि लगाएका छन् ।

सभापति देउवाले राष्ट्रिय संकटका बेला संसद बैठकमा छलफल गर्ने संसारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दावी पनि गरे ।