गृहमन्त्री थापाद्धारा हजयात्रीको बिदाई

title
बिहिबार, साउन २, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरवको मक्का मदिनामा जाने हजयात्रीहरुलाई बिदाई गर्नु भएको छ । गृहमन्त्री थापाले आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हजयात्रामा जाने १ सय ५६ जना हजयात्रीहरुलाई बिदाई गर्नु भएको हो ।

पहिलो चरणमा जाने हजयात्रीहरुलाई गृहमन्त्री थापाले विदाई गर्दै मक्का मदिनामा गएर नेपालको समृद्धिको कामना गर्न पनि अपिल गर्नु भयो । उहाँले धर्म निरपेक्ष राष्ट्र नेपालले सबै धर्मको सम्मान र संरक्षण गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हजयात्राका लागि पठाइएको पनि स्पष्ट पार्नु भयो ।

हजयात्रीहरुलाई विदाई गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पनि उपस्थिति थियो । विगत ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्का मदिना पठाउने गरिएको छ ।

यस वर्ष सरकारले साउदी अरेविया सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाउने भएको छ । गृहमन्त्री थापाले आगामी वर्ष हजयात्रीको संख्या बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

गत वर्ष सरकारले १ हजार २ सय जनालाई हजयात्राका लागि मक्कामदिना पठाएको थियो । मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्न जाने गर्दछन ।