काममा ढिलाई गर्ने कर्मचारीलाई कार्वाही गर्ने कानुनी व्यवस्था गर्न सांसदहरुको माग

title
शुक्रबार, साउन ३, २०७६

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन । प्रतिनिधिसभाका सांसदद्वय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

सत्तारुढ नेकपाका सांसद समेत रहनु भएका रावलले आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढि सास्ती व्यहोर्नुपर्ने अवस्था आउनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

उहाँले कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कार्वाहीको व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गर्नु भयो । सांसहरुले उठाएका प्रश्नको जवाफ दिंदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखि बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो ।

उहाँले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताउनु भयो । मन्त्री पण्डितले कर्मचारी प्रशासनमा सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको पनि स्मरण गराउनु भयो ।