‘भिसिटिएस’ तत्काल खारेज गर्न ढुवानी व्यवसायीको माग, नभए सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी

title
शुक्रबार, साउन ३, २०७६

काठमाडौं । यातायात व्यवसायी, ढुवानी व्यवसायी एवं यातायात मजदुरहरुले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि संचालनमा ल्याइएको भिसिटिएस प्रणाली मान्य नहुने भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो ।

ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार जरिवानासहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान सो प्रणालीमा व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको यातायात व्यवसायी, ढुवानी व्यवसायी एवं यातायात मजदुर समितिका संयोजक गोकर्ण पराजुलीले जानकारी दिनु भयो । उहाँले आयात, निर्यात गर्ने उद्योगीहरुलाई नभई आफूहरुलाई मारमा पार्ने गरी ल्याइएको यो प्रणाली तत्काल खारेज नभए ढुवानीको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी पनि दिनु भयो ।

समितिले सानो लगानीमा रहेका ढुवानीकर्ताहरुलाई उठ्नै नसक्ने प्रावधानसहित सरकारले भिसिटिएस प्रणाली संचालनमा ल्याएकोमा आक्रोश पनि व्यक्त गरेको छ ।