संसदीय समितिद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण सुरु

title
शुक्रबार, साउन ३, २०७६

काठमाडौं । संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले आज बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

बाढी आउनुको कारण पत्ता लगाई त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमाडौंको बाढी पीडित क्षेत्र कलंकी, बल्खु र कुलेश्वरको स्थलगत निरीक्षण गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनु भयो । निरीक्षणको क्रममा कुलेश्वर अपार्टमेन्ट सोसाईटीले आफूहरुको करिव १ करोड ५४ लाख बराबरको क्षति भएको विवरण समिति समक्ष पेश गरेको थियो ।

यता, समितिकी सभापति श्रेष्ठले सरकारलाई बाढी पीडितको उचित व्यवस्थाका लागि आवश्यक निर्देशन दिइएको र थप व्यवस्थाका लागि पनि सचेत गराउने प्रतिवद्धता पीडित समक्ष गर्नु भएको थियो । बाढी, पहिरो र डुबानबाट धेरैको जनधनको क्षति भएपछि समितिले उनीहरुको राहतको तत्काल व्यवस्था गर्न सरकारलाई यसअघि नै सचेत गराएको थियो ।