लोकसेवाको प्रश्नपत्र च्यात्ने ४ जना प्रहरीको नियन्त्रणमा

title
शनिबार, साउन ४, २०७६

४ साउन, काठमाडौं । स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यातेका छन् । प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ ।

लोकसेवा आयोगले शनिबार बिहान ८ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ । अन्य प्रदेशका केन्द्रहरूमा पनि निर्वाध रूपमा परीक्षा भएकाे छ ।यसक्रममा शनिबार बिहान खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यातेका थिए ।

प्रश्नपत्र च्यातेको आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।

पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबी मगर समेत छन् । त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष राईले बताए ।

तर, लोक सेवा आयोग स्रोतले भने प्रश्नपत्र नच्यातिएको दाबी गरेको छ । प्रश्नपत्र च्यात्न प्रवेश गरेकाहरू पहिले नै समातिएको उसको भनाइ छ ।

आन्दोलनकारीलाई गिरफ्तार गरेपछि कडा सुरक्षा व्यवस्थाबा वीच परीक्षा सुचारु गरिएको स्रोतले बतायो ।